काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा राख्दै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ।
आयोगले दुई पटक गरि कुल १६५ मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत तोकेको छ ।
यसअघि आयोगले ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका रूपमा तोकेको थियो।
आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम न्याय परिषद्को परामर्शमा आइतबार ८८ जनालाई मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गरिएको हो।
नियुक्ति यही पुस २५ गतेदेखि लागू हुने आयोगले जनाएको छ।
नियुक्त भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आगामी माघ २ गतेदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमा खटिन आयोगले निर्देशन दिएको छ। निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न पनि आयोगले आग्रह गरेको छ।
कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना सदस्य निर्वाचित हुने व्यवस्था छ।

