–विश्वनाथ खरेल
विश्वभरि अंग्रेजी पुरानो वर्षलाई विदाइ र नयाँवर्षलाई स्वागतमा व्यस्त छन् । यो समय हो विगतलाई समीक्षा गर्ने, उपलब्धिहरूको उत्सव मनाउने, चुनौतीहरूलाई सम्झने र भविष्यप्रति आशा जगाउने हो । सन् २०२५ एक चुनौतीपूर्ण वर्ष थियो । यसमा पनि राजनीतिक उथलपुथल, तातो वर्ष, युद्धहरू चलिरहेका, प्राकृतिक प्रकोपहरू र प्रविधिको तीव्र विकासले भरिएको थियो । तर यसले मानव सहनशीलता, नवप्रवर्तन र एकताको उदाहरण पनि प्रस्तुत ग¥यो । अब हामी सन् २०२६ को स्वागत गर्दैछौं, जसमा शान्ति, समृद्धि र नयाँ सुरुवातको आशा छ । यो अर्थमा हामी २०२५ का प्रमुख घटनाहरूको समीक्षा गर्नेछौं । जसमा विश्वव्यापी नववर्ष उत्सवहरूको वर्णन गर्नेछौं र २०२६ प्रति विश्वको अपेक्षा व्यक्त गर्नेछौं ।
सन् २०२५ को समीक्षाः चुनौती र उपलब्धिहरूको वर्ष
सन् २०२५ विश्व इतिहासमा एक परिवर्तनकारी वर्षको रूपमा दर्ज भएको थियो । यो वर्ष राजनीतिक, सैन्य, प्राविधिक र पर्यावरणीय क्षेत्रमा ठूला घटनाहरूले भरिएको थियो । वस्तुतः अमेरिकामा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सुरुवातले विश्व राजनीतिलाई नयाँ मोड दियो । सन् २०२५ जनवरी २० मा उनको शपथग्रहणपछि उनले कडा आप्रवासन नीति, ट्यारिफहरू र विदेश नीतिमा परिवर्तनहरू लागू गरे । युक्रेन–रुस युद्ध चौथो वर्षमा प्रवेश ग¥यो । जसमा रुसले थप क्षेत्र कब्जा ग¥यो र युक्रेनी शहरहरूमा आक्रमणहरू बढाए । यस युद्धले लाखौंलाई विस्थापित ग¥यो र विश्व अर्थतन्त्रलाई प्रभावित ग¥यो । यसको साथसाथै मध्यपूर्वमा इजरायल–हमास युद्धमा युद्धविराम भए पनि तनाव कायम रह्यो । सुडान र अन्य अफ्रिकी देशहरूमा गृहयुद्ध र कुहरूले मानवीय संकट निम्त्याए । जसलेगर्दा प्राकृतिक प्रकोपहरूले पनि विश्वलाई आक्रान्त पा¥यो । यसको अलवा क्यालिफोर्नियाका डढेलो, जापानको भूकम्प, चिलीको विद्युत कटौती र अन्य ठाउँमा बाढी तथा आँधीले हजारौंको ज्यान लियो र करोडौंलाई प्रभावित ग¥यो । जबकी प्रविधिको क्षेत्रमा भने ठूलो प्रगति भयो । ओपनएआईले च्याटजीपीटी–५ जारी ग¥यो । जसले कृत्रिम बुद्धिमत्ताको क्षमतालाई नयाँ उचाइमा पु¥यायो । एआई समिटहरू र नीतिगत छलफलहरूले यो प्रविधिको सुरक्षित प्रयोगमा जोड दिए । अपितु अन्तरिक्ष क्षेत्रमा निजी कम्पनीहरूले चन्द्रमामा सफल ल्यान्डिङ गरे र नयाँ मिसनहरू घोषणा गरे । यसरी खेलकुदमा लियोनेल मेसीको नेतृत्वमा इन्टर मियामीले एमएलएस कप जित्यो, र बेयोन्सेले ग्र्यामी अवार्डमा इतिहास रचिन् ।
नेपालको सन्दर्भमा भन्ने नै हो भने यो वर्ष राजनीतिक अस्थिरता र युवा नेतृत्वका प्रदर्शनहरूले चर्चा पाए । सो जनरेशन जेडका प्रदर्शनहरूले प्रधानमन्त्रीको राजीनामा निम्त्यायो । यस आन्दोलनले ८४ अर्वको भौतिक सम्पत्तिको नष्ट हुनुको साथसाथै ७७ जना मानवहरुको पनि ज्यान लियो । यसर्थ प्राकृतिक स्रोतहरूको उपयोग र पर्यटनमा प्रगति भयो । तर जलवायु परिवर्तनका प्रभावहरू पनि देखिए । समग्रमा भन्ने नै हो भने सन् २०२५ ले विश्वलाई एकताबद्ध हुन र चुनौतीहरूको सामना गर्न सिकायो ।
विश्वव्यापी नववर्ष उत्सवः विविधता र एकताको प्रतीक
डिसेम्बर ३१ को मध्यरातमा विश्वले नयाँ वर्षको स्वागत गर्छ । यो उत्सव हरेक संस्कृतिमा फरक तरिकाले मनाइन्छ । जसले मानवताको विविधतालाई प्रतिबिम्बित गर्छ । किरिबाती र सामोआबाट सुरु भएर अमेरिकी सामोआमा अन्त्य हुने यो उत्सवले पृथ्वीको घुमाइलाई समेत जोड्छ ।
न्यूजिल्यान्डको अक्ल्यान्डमा स्काई टावरबाट आतिसबाजीले २०२६ को स्वागत ग¥यो । सिड्नीमा हार्बर ब्रिज र ओपेरा हाउस वरपर लाखौंले आतिसबाजी हेरे । तर यस वर्ष बन्डी बीचको गोलीकाण्डको छायाँमा उत्सव केही मलिन भयो । यसैक्रममा दुबईमा बुर्ज खलिफामा लेजर शो र आतिसबाजीले विश्वलाई मोहित पा¥यो । हङकङ र अन्य शहरहरूमा सुरक्षा चिन्ताले उत्सवहरू रद्द भए ।
युरोपमा एडिनबर्गको स्ट्रीट पार्टी र होग्माने परम्पराले स्कटिस संस्कृतिलाई जीवन्त बनायो । पेरिसमा एफिल टावर वरपरको उत्सव र लन्डनको थेम्स नदीमा आतिसबाजीले लाखौंलाई आकर्षित ग¥यो । अमेरिकामा न्यूयोर्कको टाइम्स स्क्वायरमा बल ड्रप परम्परा कायम रह्यो, र यस वर्ष दोस्रो बल ड्रपले अमेरिकाको २५० औं स्वतन्त्रता दिवसको सुरुवात ग¥यो । रातो, सेतो र नीलो कन्फेटीले आकाश रंगियो ।
नेपालमा ग्रेगोरियन नयाँ वर्षमा ठमेल, इलामको चियाबारी, कन्याम, भेडेटार, पोखरा र अन्य पर्यटकीय क्षेत्रहरूमा धुमधामले मनाइन्छ ।ठमेलका सडकहरू पार्टीले भरिन्छन्, लाइभ म्युजिक, नाचगान र आतिसबाजीले रात भरियो । पोखराको फेवा ताल किनारमा बोनफायर र सांस्कृतिक कार्यक्रमहरू हुन्छन् । नागरकोट र चितवनका रिसोर्टहरूमा हिमालको सूर्योदय हेर्दै नयाँ वर्षको स्वागत गरिन्छ । नेपाली परम्परामा भने बैशाख १ मा बिस्केट जात्रा र नयाँ वर्ष मनाइन्छ । तर डिसेम्बर ३१ लाई पनि युवाहरूले उत्साहपूर्वक स्वागत गर्छन् ।
सन् २०२६ प्रति विश्वको आशा र अपेक्षा
सन् २०२६ मा विश्वले शान्ति र स्थिरताको आशा गरेको छ । युक्रेन युद्धको अन्त्य र मध्यपूर्वमा स्थायी युद्धविराम प्रमुख अपेक्षा हुन् । ट्रम्प प्रशासनले शान्ति वार्ताहरू अघि बढाउने संकेत दिएको छ । आर्थिक रूपमा, विश्व बैंक र आईएमएफले मध्यम वृद्धिको पूर्वानुमान गरेका छन् । तर ट्यारिफ युद्धहरूले चुनौती थप्न सक्छन् । प्रविधिमा एआईको सुरक्षित विकास र अन्तरिक्ष मिसनहरूले उत्साह जगाएका छन् । जलवायु परिवर्तनको सामनामा नवीकरणीय ऊर्जाको प्रयोग बढ्ने अपेक्षा छ । खेलकुदमा मिलान–कोर्टिना विंटर ओलम्पिक्स र फिफा विश्वकपले विश्वलाई एकताबद्ध गर्नेछन् । यी उत्सवहरूले विगतका दुःखहरूलाई बिर्सेर नयाँ सुरुवातको सन्देश दिन्छन ्। नेपालमा राजनीतिक स्थिरता, पर्यटन वृद्धि र युवा नेतृत्वको उदयको आशा छ । फलतः विश्वले २०२६ लाई सहयोग, नवप्रवर्तन र मानवीयताको वर्ष बनाउने संकल्प गरेको छ ।

