-लक्ष्मण उप्रेती
प्रस्तावना
आजको विश्वराजनीतिक परिस्थितिलाई बुझ्दा एउटा स्पष्ट तथ्य प्रष्ट हुन आउछ,साम्राज्यवाद केवल आर्थिक वा राजनीतिक शक्ति मात्र होइन, यो मानव सभ्यताको सम्पूर्ण दिशा नियन्त्रण गर्ने हस्तक्षेप हो। नेपालजस्ता साना
राष्ट्रहरूमा यसको प्रभाव झनै गहिरो र खतरनाक रूपमा बढ्दै गएको तथ्यहरुले पुष्टि गरेकोछ। आज हाम्रो देशमा नीति, अर्थतन्त्र, शिक्षा, संस्कृति, र राज्य सञ्चालनसम्ममा साम्राज्यवादी हस्तक्षेप स्पष्ट रूपमा देखिएको छ। त्यसैले, “साम्राज्यवादी ठाडो हस्तक्षेपलाई परास्त गर्नु” केवल राष्ट्रियताको सवाल मात्र होइन, यो अस्तित्व र स्वाधीनताको निर्णायक संघर्ष हो।
१. साम्राज्यवादको चरित्र र यसको ठाडो हस्तक्षेप:-
साम्राज्यवाद, मार्क्स र लेनिनका विश्लेषणअनुसार, पूँजीवादको उच्चतम र परजीवी चरण हो। यसको प्रमुख विशेषता नै आर्थिक, राजनीतिक, सांस्कृतिक र सैन्य माध्यमबाट विश्वका साना राष्ट्रहरूलाई नियन्त्रणमा राख्नु हो। ठाडो हस्तक्षेप भन्नाले कुनै राष्ट्रको आन्तरिक नीतिमा प्रत्यक्ष प्रभाव पार्ने, निर्णयमा नियन्त्रण गर्ने, शासनको स्वरूप परिवर्तन गराउने, वा सत्ता परिवर्तन गराउने साम्राज्यवादी रणनीतिलाई जनाइन्छ।
नेपालमा यो हस्तक्षेप विभिन्न रूपमा प्रकट भएको छ।
क) आर्थिक क्षेत्रबाट:
ऋण, अनुदान, एनजीओ, माइक्रोफाइनान्स, र विदेशी लगानीमार्फत नीतिगत नियन्त्रण।
ख) राजनीतिक क्षेत्रबाट:
दलहरू, निर्वाचन र नीति निर्माण प्रक्रियामा विदेशी परामर्श र दबाब।
ग) सांस्कृतिक क्षेत्रवाट:
मिडिया, मनोरञ्जन, र उपभोक्तावादी मूल्यहरूको प्रसारद्वारा चेतनाको उपनिवेशीकरण।
घ) सैन्य र सुरक्षा क्षेत्रवाट:
तथाकथित “शान्ति र सुरक्षाको साझेदारी” शीर्षकमा विदेशी सेना र संस्था प्रवेश।
२. नेपालको सन्दर्भमा साम्राज्यवादी हस्तक्षेप:-
नेपालमा २०६२/६३ को आन्दोलनपछि उत्पन्न “नयाँ नेपालको” आशा क्रमशः साम्राज्यवादी योजनाको मैदानमा रूपान्तरण हुँदै गयो।अमेरिकी MCC सम्झौता,भारतसँगको असमान व्यापार र सिमा नीतिहरू,चीनसँगको असन्तुलित सम्बन्ध प्रयोग गरेर सन्तुलन तोड्ने प्रयास,यी सबै ठाडो हस्तक्षेपका उदाहरण हुन्।
त्यसैगरी, राजनीतिक दलहरूमा वैदेशिक ‘प्रोजेक्ट फन्डिङ’ र ‘थिङ्क ट्याङ्क’हरूको घुसपैठले निर्णय क्षमतालाई स्वायत्त राख्न नसक्ने बनाएको छ। जसले राजनीति परनिर्भर, अर्थतन्त्र आयातमुखी, र जनचेतनालाई भ्रमपूर्ण बनाएको छ।
३. हस्तक्षेपको नतिजा: राष्ट्रियता र जनजीविकाको संकट:-
साम्राज्यवादी हस्तक्षेपले नेपालको दुई प्रमुख आधारहरु
(क) राष्ट्रिय सार्वभौमिकता,
(ख) जनताको जीवनाधार
दुवैलाई धरापमा पारेको छ।
देशका उत्पादन साधन, जलस्रोत, जमिन, र उद्योगहरू विदेशी लगानीकर्ताका नाफामुखी योजनाको वस्तु बनेका छन्। कृषि प्रणाली ध्वस्त, युवा रोजगारीका लागि परनिर्भर, र शिक्षण प्रणाली विदेशी पाठ्यक्रमको अनुकरण। यति हुँदा पनि संसदीय राजनीतिक नेतृत्व मौन वा यसमा संलग्न छ।
४. आजको ऐतिहासिक कार्यभार: साम्राज्यवादलाई परास्त गर्ने रणनीति:-
साम्राज्यवादलाई परास्त गर्न केवल नारा मात्र पर्याप्त छैन। यसले दीर्घकालीन वैज्ञानिक र जनआधारित रणनीति माग्दछ।यससम्बन्धी मुख्य कार्यदिशाहरू यसरी तय गर्नु आवश्यक छ।
(१) वैचारिक स्वाधीनता र चेतनाको पुनर्जागरणका लागि जनताको चेतनामा आत्मनिर्भरता, वर्गीय दृष्टिकोण र राष्ट्रिय स्वाभिमानको पुनर्स्थापना गर्नुपर्छ।
(२) आर्थिक स्वतन्त्रताका लागि
उत्पादनमूलक उद्योग, सहकारी, स्थानीय स्वामित्वमा आधारित विकास मोडेल निर्माण। विदेशी ऋण र अनुदानको विकल्प खोज्ने प्रयास गर्नु पर्दछ।
(३) राजनीतिक एकता र राष्ट्रिय संयुक्त मोर्चा निर्माण आवश्यकछ।
साम्राज्यवाद, सामन्तवाद, र दलाल पूँजीवादविरुद्ध सबै प्रगतिशील, लोकतान्त्रिक र देशभक्त शक्तिहरूबीच संयुक्त मोर्चा निर्माण नै अहिलेको मुख्य प्रश्न हो।
(४) सांस्कृतिक पुनर्जागरणले
उपनिवेशी मानसिकता, विदेशी उपभोक्तावादी संस्कृतिविरुद्ध स्वदेशी मूल्य, भाषा र संस्कृतिको सम्मान र प्रसार गर्नु पर्दछ।
(५) जनसङ्गठन र प्रतिरोध आन्दोलनले नै श्रमिक, किसान, विद्यार्थी, महिला, बुद्धिजीवी सबै वर्गलाई संगठित गर्दै साम्राज्यवादविरुद्ध प्रतिरोधको दीर्घकाली योजना सहितको आन्दोलन विकास गर्नु आवश्यक छ।
५. निष्कर्ष
नेपालको स्वाधीन अस्तित्व अहिले विदेशी पूँजी, नीतिगत हस्तक्षेप र चेतनागत आक्रमणले घेरिएको छ। यदि हामीले समयमै सचेत कदम चाल्यौं भने मात्र राष्ट्रियताको पुनर्स्थापना, जनताको आत्मनिर्भर जीवन, र समाजवादी भविष्य सम्भव हुनेछ। त्यसैले
साम्राज्यवादी ठाडो हस्तक्षेपलाई परास्त गर्नु आजको पहिलो र महत्त्वपूर्ण कार्यभार हो,किनकि त्यसलाई परास्त नगरी न त राष्ट्रिय मुक्ति सम्भव छ, न जनताको क्रान्तिकारी परिवर्तन।
लेखक – नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सद्स्य एवं संगठन बिभागका प्रमुख हुनुहुन्छ।