काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो दोस्रो विधान महाधिवेशनको दोस्रो दिन आज पनि जारी राखेको छ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा बिहान ८ बजेबाट महाधिवेशन सुरु भएको छ।
आज महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले आ–आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
महाधिवेशनको पहिलो दिन, शुक्रबार, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यस्तै, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन पेश गर्नुभएको थियो।
आजका लागि प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरी प्रतिवेदनमाथि विस्तृत छलफल गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। महाधिवेशनको मूल नारा भनेको ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ हो।
देशभरिबाट २,०२६ जना प्रतिनिधि सहभागी भएका छन् भने आयोजकको हैसियतमा थप ३१५ जनाले सहभागिता जनाएका छन्। यसरी कुल २,३४१ जनाको सहभागिता रहेको महाधिवेशन आइतबारसम्म चल्ने कार्यक्रम छ।

