काठमाडौँ ।
आगामी बडादशैंलाई लक्षित गर्दै काठमाडौँ महानगरपालिकाले बजार अनुगमन गर्ने तयारी गरेको छ। महानगरले उपभोक्ताको हित संरक्षण र बजारमा शृङ्खलाबद्ध ढंगले देखिने मूल्यवृद्धि, गुणस्तरको समस्या र ठगीजन्य क्रियाकलापलाई नियन्त्रण गर्ने उद्देश्यले अनुगमन सुरु गर्न लागेको हो।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण रोकिएको अनुगमन अब पुनः सुरु हुने भएको छ। उपप्रमुख सुनिता डङ्गोलको नेतृत्वमा हुने अनुगमन टोलीले यसपटक राजधानीका प्रमुख बजार क्षेत्रमा विशेष ध्यान दिने बताइएको छ। टोलीमा महानगरका कर्मचारीसँगै सुरक्षा निकाय र सम्बन्धित सरकारी निकायका प्रतिनिधि समेत सहभागी हुनेछन्।
अनुगमन टोलीले विशेषगरी टुकुचा तरकारी बजार, खसी बजार र सुपथ बिक्री कक्षलगायत स्थलमा निगरानी गर्नेछ। दशैं नजिकिँदै गर्दा राजधानीका बजारमा तरकारीदेखि मासुजन्य वस्तु, चामल, दाल, तेल, नुन लगायत दैनिक उपभोग्य सामग्रीको माग बढ्ने भएकाले मूल्य नियन्त्रण र गुणस्तर सुनिश्चित गर्न अनुगमन आवश्यक भएको काठमाडौँ महानगरपालिकाको भनाइ छ।
अनुगमनका क्रममा खाद्य वस्तुको मूल्य सूची, म्याद सकिएको वा नजिकिएको वस्तु, गुणस्तर मापदण्ड तथा उपभोक्ता ठगीका विभिन्न रूपलाई प्राथमिकताका साथ जाँच गरिने उपप्रमुख डङ्गोलले जानकारी दिइन्। “हामीले बजार अनुगमनलाई नियमित प्रक्रियाको रुपमा अघि बढाएका छौं। दशैंजस्तो चाडपर्वमा व्यवसायीले अव्यवस्थित मूल्यवृद्धि गर्ने सम्भावना बढी हुने भएकाले यसपटक हामी अझ कडाइका साथ अनुगमनमा जानेछौं,” उनले भनिन्।
महानगरपालिकाले उपभोक्तालाई प्रत्यक्ष प्रभावित गर्ने गतिविधि भेटिएमा आवश्यक कारबाही गर्ने चेतावनी समेत दिएको छ। कारबाहीमा जरिवाना मात्र नभई दोषीलाई कानुनी प्रक्रियामा समेत लैजाने तयारी गरिएको बताइएको छ।
यसअघि पनि महानगरले विभिन्न चाडपर्वमा बजार अनुगमन गर्दै आएको छ। तर, यसपटक आन्दोलनका कारण केही समय ढिला भए पनि उपभोक्ता हितमा काम गर्ने प्रतिबद्धता महानगरले जनाएको छ। उपभोक्ताले समेत बजारमा हुने मूल्यवृद्धि र ठगीविरुद्ध सचेत रहनुपर्ने उपप्रमुख डङ्गोलको आग्रह छ।
दशैंमा राजधानी भित्रिने दैनिक उपभोग्य सामग्रीको माग अत्यधिक हुने भएकाले बजारमा मूल्य नियन्त्रण र गुणस्तर सुनिश्चित गर्नु सबै पक्षको साझा दायित्व रहेको उनको भनाइ छ।
यसरी, काठमाडौँ महानगरपालिकाले सुरु गर्न लागेको अनुगमनले बजारलाई व्यवस्थित बनाउन, उपभोक्तालाई राहत दिलाउन र व्यवसायीलाई अनुशासनमा ल्याउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।

