काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टीमा नेतृत्व रुपान्तरणको प्रस्ताव अघि सारेकी छन्। उनले कार्यबाहक सभापति डीपी अर्यालमार्फत संस्थापक सभापति रवि लामिछानेलाई पार्टीको अर्थपूर्ण रुपान्तरणका लागि तत्काल प्रक्रिया सुरु गर्न आग्रह गरेकी हुन्।
उनको भनाइमा, सुशासनको आधारमा उभिएको नैतिक र जनउत्तरदायी सरकार निर्माण गर्ने उद्देश्यसहित स्थापना भएको रास्वपालाई आम जनताले ठूलो आशा र भरोसापूर्वक हेरेका छन्। तर पछिल्लो समय पार्टीप्रति प्रश्न उठ्न थालेको अवस्थालाई आत्मसात गर्दै संवेदनशील परिस्थितिमा निर्णायक कदम चाल्नुपर्ने आवश्यकता रहेको उनले औंल्याएकी छन्।
प्रस्तावमा उनले प्रमुख रूपमा जेन–जी आन्दोलनपछिको पीडा र त्यसले निम्त्याएको संकटलाई सम्बोधन गर्नुपर्ने आवश्यकता उल्लेख गरेकी छन्। उनको मूल्यांकनमा, तत्कालीन सरकारले गरेको दमनका कारण कम्तीमा ७२ जनाको मृत्यु, एक हजारभन्दा बढी घाइते, तोडफोड, आगजनी र लुटपाटका घटनाले देशलाई गम्भीर संकटमा पारेको छ।
कार्कीले प्रस्तुत गरेको प्रस्तावमा जेन–जी मात्र नभई जेन अल्फा पुस्तासहित सबै उमेर समूह, जातजाति, भाषाभाषी, भौगोलिक क्षेत्र र वर्गका पीडा तथा अपेक्षालाई सम्बोधन गर्ने दिशामा पार्टीले तत्काल कदम चाल्नुपर्ने सुझाव दिइएको छ।