काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जारी आन्दोलनलाई ऐतिहासिक परिवर्तनको संघारमा पुर्याएको भन्दै आन्दोलनरत जेनजी पुस्तालाई संयम रहन आग्रह गरेका छन्। मंगलबार जारी गरिएको भिडियो सन्देशमार्फत उनले सरकार विघटन भइसकेको अवस्थामा आन्दोलनले मुलुकलाई नयाँ मोडमा ल्याइसकेको दाबी गर्दै आगामी बाटो जनतामै निहित रहने बताएका हुन्।
विप्लवले अहिलेको परिप्रेक्ष्य संसद वा सत्ता संरचनाबाट होइन, सडकमा उत्रिएका जनताबाट नेतृत्व लिनुपर्ने बेला आएको बताएका छन्। उनका अनुसार जेनजी पुस्ताले देखाएको जागरण र साहसले पुरानो सत्ता संरचनालाई चुनौती दिएको छ र यो विद्रोहले नेपाली समाजलाई नयाँ दिशामा धकेलेको छ।
उनले आन्दोलन चर्किँदै गए पनि जनताले संयमता गुमाउन नहुनेमा जोड दिएका छन्। “हिंसा र तोडफोडले भन्दा पनि विचार र एकताले परिवर्तनलाई सुनिश्चित गर्छ,” भन्दै उनले युवालाई शान्तिपूर्ण तर दृढ रूपमा अगाडि बढ्न आग्रह गरे।
विप्लवले नेपाल विगतका आन्दोलनका अनुभवबाट पाठ सिकेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। “आजको विद्रोहले पुरानो शासन संरचना ढाल्ने दिशामा महत्वपूर्ण योगदान पुर्याइसकेको छ। अबको चरणमा विवेक, धैर्य र राजनीतिक परिपक्वता जरुरी छ,” उनले भने।
उनले आन्दोलनलाई अपहरण गर्ने वा गलत दिशातर्फ मोड्ने शक्तिहरूप्रति सतर्क रहन चेतावनीसमेत दिए। सन्देशमा उनले मुलुकमा न्याय, समानता र समृद्धिका लागि भइरहेको यो संघर्षलाई सम्पूर्ण नेपाली जनताको साझा अभियानका रूपमा विकास गर्नुपर्ने बताए।
विप्लवले अन्त्यमा भने, “यो विद्रोहले नेपाललाई ऐतिहासिक परिवर्तनको संघारमा ल्याइसकेको छ। अब हाम्रो काम यो आन्दोलनलाई व्यवस्थित, संयमित र दूरदर्शी ढंगले अगाडि बढाउने हो।”

