काठमाडौं, भदौ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लोकतान्त्रिक मूल्य र मान्यतामा कुनै पनि हालतमा सम्झौता नगर्ने प्रतिबद्धता जाहेर गरेको छ। बिहीबार पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पत्रकार सम्मेलनमार्फत तीनवटा महत्त्वपूर्ण प्रस्ताव सार्वजनिक गर्दै यस्तो स्पष्ट धारणा राखेका हुन्।
रास्वपाले संविधानको धारा ८३ अन्तर्गत सङ्घीय व्यवस्थापिकामा दुई सदनात्मक संरचना कायम राख्नुपर्ने आवश्यकता औँल्याउँदै राष्ट्रिय सभाको स्थायी स्वरूप र गतिशीलता जोगाउनुपर्नेमा जोड दिएको छ। साथै, अन्तरिम सरकार गठन गरी आगामी छ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गराउनुपर्ने पार्टीको प्रस्ताव छ। यसलाई रास्वपाले आन्दोलनको म्यान्डेट र ताजा जनादेशबीचको सन्तुलन कायम गर्ने उपायका रूपमा व्याख्या गरेको छ।
जेनजी आन्दोलनमाथि गत सोमबार भएको दमन, त्यसपछिका मानवीय क्षति तथा सार्वजनिक–निजी सम्पत्तिमा भएको आक्रमणको कडा निन्दा गर्दै रास्वपाले यस्ता घटनाको उच्चस्तरीय न्यायिक छानबिन गर्न माग गरेको छ। साथै, २०४६ सालयता देखिएका प्रमुख भ्रष्टाचारका मुद्दामा निष्पक्ष अनुसन्धान तथा न्यायिक निर्णयका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने प्रस्ताव पनि अघि सारिएको छ। रास्वपाका अनुसार यस्तो आयोग नयाँ सरकार बनेको १५ दिनभित्र गठन गर्नुपर्नेछ।
सुशासन र प्रणालीगत सुधारका लागि जेनजी पुस्तासहित सबै पक्षको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै रास्वपाले सर्वपक्षीय सहमतिबाट प्रस्तावित प्रधानमन्त्री उम्मेदवारलाई पार्टीको समर्थन रहने स्पष्ट पारेको छ।

