विश्व सम्पदामा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र अहिले झनै आकर्षक र सौन्दर्यपूर्ण बनेको छ । ललितपुर महानगरपालिकाले पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा बिछ्याएपछि सम्पदाको मौलिकता अझ प्रस्ट देखिएको छ ।
करिब रु एक करोड ५२ लाख लागतमा सम्पन्न गरिएको यो कार्यले दरबार क्षेत्रलाई सफा, चम्किलो र पर्यटकीय आकर्षणयुक्त बनाएको छ । महानगर प्रमुख चिरीबाबु महर्जनका अनुसार तेल्या इँटा मल्लकालदेखि प्रयोग हुँदै आएको परम्परागत इँटा हो, जसले पानी जम्न नदिने, बलियो र टिकाउ हुने विशेषता बोकेको छ ।
स्थानीयवासीले पनि यो कार्यलाई स्वागत गर्दै दरबार क्षेत्र अब पहिलेभन्दा सफा र व्यवस्थित देखिएको बताएका छन् ।
ललितपुर महानगरले यस किसिमका मर्मत–पुनर्निर्माणलाई निरन्तरता दिँदै ऐतिहासिक सम्पदाको मौलिकता जोगाउने प्रतिबद्धता जनाएको छ ।