काठमाडौं, भदौ २६ – जेन–जी आन्दोलन चर्किएसँगै देशभरका कारागारमा भएको तोडफोड र आगजनीका कारण फरार भएका कैदीहरूमध्ये १ हजार ४५५ जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार हालसम्म १४ हजार ५०७ कैदी कारागारबाट फरार भएका थिए। तीमध्ये १२ हजार ८५२ जना अझै फरार रहेको उनले जानकारी दिए।
प्रहरीले जारी तथ्यांकअनुसार प्रहरी हिरासतबाट समेत ५७३ थुनुवा फरार भएका छन्। बाँकी फरार कैदी र थुनुवाको खोजीका लागि देशभर निगरानी कडा पारिएको प्रहरीको भनाइ छ।
सुरक्षा निकायले सीमावर्ती क्षेत्रदेखि राजमार्ग र संवेदनशील क्षेत्रमा चेकजाँच कडाइ गर्दै, स्थानीय तह र समुदायलाई समेत सतर्क रहन आग्रह गरेको छ।

