काठमाडौं, भदौ २५ – मुलुकमा जारी आन्दोलन र अस्थिरताबीच नेपाली सेनाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित मन्त्रीहरूलाई शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा सुरक्षित स्थानमा राखेको छ।
सेनाको उच्च स्रोतका अनुसार मंगलबार दिउँसोदेखि उनीहरूलाई सुरक्षा कारण देखाउँदै हेलिकप्टरमार्फत बालुवाटार, मन्त्री क्वार्टर र सिंहदरबारबाट शिवपुरी लगिएको हो। निवर्तमान प्रधानमन्त्री ओलीले दिउँसो २ बजे पदबाट राजीनामा दिएलगत्तै सेनाले उनलाई बालुवाटारबाटै शिवपुरी पुर्याएको थियो।
त्यस्तै, उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायत मन्त्रीहरूलाई भैंसेपाटीस्थित मन्त्री क्वार्टरबाट स्थानान्तरण गरिएको बताइएको छ। माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी अध्यक्ष माधव नेपाललाई भने सिंहदरबारमै विपक्षी दलहरूको बैठकमा रहेको समयमा सेनाले तत्काल सुरक्षित स्थानमा लगेको हो।
मंगलबार दिउँसो प्रचण्डको निवासमा आन्दोलनकारीहरूले आगजनी गरेको सूचना पाएपछि सेनाले प्रचण्ड र माधव नेपाललाई आपतकालीन रूपमा शिवपुरी पुर्याएको स्रोतले जनायो।
यसैबीच, ओलीले बुधबार राति ‘प्रिय जेनजी बाबुनानीहरू’ भन्दै एक पत्र जारी गर्दै आफू शिवपुरीस्थित सुरक्षित एकान्त स्थानमा रहेको पुष्टि गरेका छन्। उक्त पत्र प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेमार्फत सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।
सेनाले हाल राष्ट्रपति, मन्त्रीहरू र अन्य शीर्ष नेताहरूलाई पनि विभिन्न सुरक्षित स्थानमा राखेको जनाएको छ। परिस्थितिबारे थप आधिकारिक जानकारी भने सार्वजनिक गरिएको छैन, तर सेनाले उच्च सतर्कता अपनाइरहेको बुझिएको छ।

