काठमाडौं –
हालको राजनीतिक संकट समाधानका लागि जेन–जी नेपालको अर्को समूहले अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङलाई प्रस्ताव गर्ने निर्णय गरेको छ।
बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचारको अन्त्य, बेथिती नियन्त्रण र सुशासन कायम गर्ने आन्दोलन अभूतपूर्व सफलताको नजिक पुगेको छ र जेनजी समर्थित अन्तरिम मन्त्रिपरिषद् गठन भएसँगै यसको निष्कर्ष आउनेछ।”
समूहका अनुसार प्रारम्भिक छलफलमा काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)लाई योग्य उम्मेदवार मानिएको भए पनि उनले प्रक्रियामा रुचि नदेखाएकाले विकल्प खोजिएको हो। त्यस्तै, धरानका मेयर हर्क साम्पाङको नाम पनि छलफलमा आए पनि सबैलाई नेतृत्व गर्ने सम्भावना न्यून ठहरिएको उल्लेख छ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा हिजो भएको भर्चुअल छलफलमा समर्थन भए पनि संविधानअनुसार न्यायाधीशहरू यो पदका लागि योग्य नहुने र उमेर सीमा पार गरिसकेकाले उनको नाम अस्वीकृत गरिएको स्पष्ट गरिएको छ।
अन्ततः, जेन–जी नेपालले घिसिङलाई नै अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वका लागि उपयुक्त व्यक्तित्व ठहर गर्दै सकारात्मक सहमति बनाएको जनाएको छ।

