काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको गठबन्धन सरकारलाई स्वार्थी समूहको सेवामा लीन भएको आरोप लगाएका छन्। बिहीबार जारी प्रेस वक्तव्यमा उनले कांग्रेस–एमालेले १४ महिनाअघि मध्यरातमा गठन गरेको सरकारलाई ‘असंवैधानिक र अप्राकृतिक’ भन्दै जनताको विश्वास गुमाएको दाबी गरे।
प्रचण्डले आफ्नो नेतृत्वको सरकार सुशासन र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्दा स्वार्थी तत्वहरू त्रसित भएको र तिनकै इशारामा हालको गठबन्धन बनेको आरोप लगाए। “यो सरकार जनहितभन्दा टाढा गई भ्रष्टाचार र दमनको बाटोमा लागेको छ,” वक्तव्यमा भनिएको छ।
उनले सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध र भ्रष्टाचारविरुद्ध जेन जी पुस्ताले थालेको आन्दोलनलाई जायज भन्दै त्यसलाई सरकारले पहिलो दिनदेखि नै क्रूर दमन र नरसंहारको नीति अपनाएको आरोप लगाए। साथै उनले आन्दोलनको दोस्रो दिन अवाञ्छित तत्त्वहरूको घुसपैठ भएको उल्लेख गर्दै सिंहदरबारसहितका संरचनामा आगजनीमा उनीहरू संलग्न भएको दाबी गरे।
माओवादी केन्द्रका अध्यक्षले आफ्नो पार्टी र जेन जी आन्दोलनका मागबीच समानता रहेको भन्दै उन्नत लोकतन्त्र, सुशासन र सामाजिक न्यायका सवाल संसद र संविधानकै प्रक्रियाबाट पूरा गर्न सकिने बताए। “यो आन्दोलनले परिवर्तन र अग्रगमनको ढोका खोलेको छ,” उनले भने।
प्रचण्डले आन्दोलनमार्फत उठाइएका मागहरूलाई समर्थन गर्दै जेन जी पुस्ताप्रति विशेष धन्यवाद व्यक्त गरे। उनले माओवादी पार्टी सुशासन, सामाजिक न्याय र समृद्धिको लागि निरन्तर संघर्षरत रहने प्रतिबद्धता दोहोर्याए।

