पूर्वप्रधानन्यायाधीश कार्की: “पहिलो प्राथमिकता शान्ति र निष्पक्ष निर्वाचन”
काठमाडौं, २५ भदौ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफू प्रधानमन्त्री भए तत्कालै शान्ति कायम गर्ने र निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने प्राथमिकता दिने स्पष्ट गरेकी छिन्। भारतीय टेलिभिजनलाई दिइएको अन्तर्वार्तामा उनले मुलुकको अहिलेको अवस्थालाई “ध्वस्त भएको भवन” सँग तुलना गर्दै त्यसलाई अस्थायी संरचनाले टेवा दिएर अघि बढाउन सकिने बताइन्।
उनले भनिन्, “पहिलो त शान्तिको आवश्यकता नै हो। म भन्दिनँ कि म ठूलो आर्थिक सुधार ल्याउँछु। मैले समयमा निर्वाचन गरेर अर्को नेतृत्वलाई सत्ता हस्तान्तरण गर्ने हो।”
कार्कीले निर्वाचनमा निष्पक्षता कायम गर्नुपर्नेमा जोड दिँदै पैसाको प्रभावमा नेतृत्वमा कोही नआउन् भन्ने मुख्य लक्ष्य हुने बताइन्।
युवा पुस्ताले नेतृत्वमा आउनुपर्ने जनआन्दोलनको मागलाई सम्बोधन गर्दै उनले नयाँ पुस्ता वा नयाँ दलहरूको उदय हुने सम्भावनाबारे खुला धारणा राखिन्। “हामी कसैलाई चुनाव नलड्न भनेर भन्न सक्दैनौं। कोही पार्टीगत रूपमा आउलान्, कोही स्वतन्त्र रूपमा आउलान्। यो त उनीहरूको रोजाइ हो,” उनले भनिन्।
उनका अनुसार यो आन्दोलनपछि नयाँ दल गठन गरेर वा पुराना दलमार्फत भए पनि युवाहरू नेतृत्वमा आउन सक्छन्, जसलाई आफूले स्वागत गर्ने बताइन्।

