काठमाण्डौ । भारतको राजस्थान राज्यको राजधानी जयपुरस्थित सवाई मान सिंह अस्पतालमा भीषण आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। मृतकमध्ये दुई जना महिला रहेको भारतीय अधिकारीहरूले जनाएका छन्।
अस्पतालको आईसीयू कक्षमा राति अबेर आगलागी भएको र धेरै बिरामी र उनीहरूका आफन्त घाइते भएका छन्। आगो नियन्त्रणमा लिन अस्पतालमा आवश्यक सुरक्षा उपकरण नहुँदा क्षति बढेको बताइएको छ।
पीडितहरूका अनुसार आगलागी सुरु भएपछि डाक्टरसहित केही कर्मचारीले बिरामीहरूलाई सहयोग नगरी अस्पताल परिसर छाडेका थिए। आगोको कारण भने अहिलेसम्म स्पष्ट भएको छैन।
पश्चिम बङ्गालको बाढीपहिरोमा १८ बढीको गयो ज्यान
यसैबीच, पश्चिम बङ्गालको दार्जिलिङमा आएको बाढी र पहिरोमा कम्तीमा १८ जनाको ज्यान गएको छ। नेपालबाट पूर्वतर्फ सरेको भारी वर्षाका कारण स्थानीय बस्तीहरूमा ठूलो क्षति पुगेको र हजारौँ पर्यटक पहाडी क्षेत्रमा अलपत्र परेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।