काठमाडौं, असोज ९ – एसियाली वैज्ञानिकहरूलाई सम्मान गर्ने उद्देश्यले प्रकाशन हुने ‘एशियन साइंटिस्ट म्यागजिन’ले सार्वजनिक गरेको एक सय एसियाली वैज्ञानिकको सूचीमा नेपालका पाँच वैज्ञानिक छनोट भएका छन्।
यस वर्षको सूचीमा काठमाडौँ विश्वविद्यालयका फ्रेनशन प्रधान, फ्रेन्स अफ नेचरका संस्थापक राजु आचार्य, स्वतन्त्र संरक्षण जीवविज्ञानी (इन्डिपेन्डेन्ट कन्जरभेसन बायोलोजिस्ट) रिन्जिन फुनजोक लामा, राप्ती इञ्जिनियरिङ कलेजका डा. शैलेन्द्र गिरी, र नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) की टिष्टा प्रसाईं जोशी समावेश हुनु भएको छ।
सो सूची एसिया भरका विभिन्न वैज्ञानिक उपलब्धिहरूका आधारमा तयार गरिन्छ र यसले अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा योगदान पुर्याउने वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय पहिचान बनाउने लक्ष्य राखेको छ।
सूचीमा समावेश भएपछि प्रतिक्रिया दिँदै डा. गिरीले भने, “देशको प्रतिष्ठा बढाउने यस्तो सम्मानले अझ मेहनत गरेर विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने प्रेरणा मिलेको छ।” सूचना प्रविधिका क्षेत्रमा लामो समयदेखि सक्रिय रहनुभएका डा. गिरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र कर्मचारी प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक समेत हुनुहुन्छ।
उहाँले निजी तथा सरकारी क्षेत्रबीच सहकार्य गर्दै सूचना प्रविधिको प्राज्ञिक तथा व्यावहारिक उन्नयनमा निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
नेपालका वैज्ञानिकहरू अन्तर्राष्ट्रिय सूचीमा समावेश हुनु विज्ञान, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा नेपालले गरिरहेको प्रगतिको संकेतका रूपमा लिइएको छ।