काठमाडौँ । सन् २०२५ को सेप्टेम्बरमा नेपाल भित्रिने विदेशी पर्यटक संख्या अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार गत सेप्टेम्बर महिनामा ७८ हजार ७११ विदेशी पर्यटक नेपाल आएका छन्।
यो संख्या सन् २०२४ को सेप्टेम्बरमा आएको ९६ हजार ३०२ पर्यटकको तुलनामा १८.३ प्रतिशतले कम हो। पर्यटन बोर्डका अनुसार यो गिरावट पर्यटन सिजनकै बीचमा देखिएको हो, जसले आगामी महिनाका लागि चिन्ताको विषय बनेको छ।
गत अगस्टमा ८८ हजार ६८० विदेशी पर्यटक नेपाल आएका थिए, जसको तुलनामा सेप्टेम्बरमा आगमन दर थप घटेको देखिन्छ।
देशवार तथ्यांक अनुसार भारतबाट सबैभन्दा बढी १५ हजार ५५६ पर्यटक नेपाल आएका छन्। त्यस्तै, चीनबाट पाँच हजार २३७, अमेरिकाबाट नौ हजार ६७९, श्रीलंकाबाट तीन हजार १५ र बंगलादेशबाट दुई हजार २३० पर्यटकले नेपाल भ्रमण गरेका छन्।
पर्यटन बोर्डले मौसमी अस्थिरता, विश्वव्यापी आर्थिक मन्दी र उडान आवृत्तिमा कमीजस्ता कारणहरूले यस वर्षको सेप्टेम्बरमा आगमन दर घटेको अनुमान गरेको छ।

