गोरखा । सामान्यतया पुस–माघमा मात्रै हिउँ पर्ने गोरखाको उत्तरी क्षेत्र यस वर्ष असोजमै सेताम्य बनेको छ। चुमनुब्री गाउँपालिका–१ साम्दोमा सोमबार बिहानैदेखि हिमपात सुरु भएपछि जनजीवनमा केही असर परेको छ।
साम्दोका स्थानीय निमा ग्याल्जेन लामाका अनुसार असोज महिनामै परेको हिउँ गहुङ्गो भएकाले यसले आलु र फापरजस्ता बालीमा असर पुर्याउने सम्भावना रहन्छ। “जाडोमा पर्ने हिउँ हल्का हुन्छ, तर अहिलेको हिउँ गहुङ्गो छ,” उनले भने, “हाल बाक्लो हिमपात नभएकाले तत्कालीन असर देखिएको छैन।”
आज दिउँसोदेखि घाम लाग्न थालेपछि हिउँ विस्तारै पग्लिँदै गएको र मौसम सफा हुनेबित्तिकै किसानहरूले खेतीबाली भित्र्याउने तयारी थालेका छन्।
समुद्री सतहदेखि ३,८९० मिटर उचाइमा अवस्थित साम्दोमा मुख्यतया आलु र फापरको खेती हुन्छ। यहाँका बासिन्दाको मुख्य आम्दानी पर्यटनसँग जोडिएको छ।
हिमपातसँगै मनास्लु आरोहण सिजन सुरु भएकाले साम्दोमा देशी–विदेशी पर्यटकहरूको चहलपहल बढेको स्थानीयहरूले बताएका छन्। हिमाली दृश्यावलोकन र हिउँले ढाकिएको गाउँको सुन्दरता हेर्न आउने पर्यटकहरू उत्साहित देखिएका छन्।

