काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि निर्वाचन आयोगले आगामी निर्वाचन समयमै सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ।
मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका आयुक्तबीच भएको भेटमा आयोगले निर्वाचनका तयारी, आवश्यक जनशक्ति, स्रोत र साधनका विषयमा जानकारी गराएको थियो।
छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरकारको तर्फबाट निर्वाचनका लागि आवश्यक सबै स्रोत र साधन उपलब्ध गराउने स्पष्ट प्रतिबद्धता आएको बताए। उनले भने, “आयोगले निर्वाचनका लागि आवश्यक जनशक्ति र स्रोतको आँकलन गर्दै त्यसको प्रक्षेपण प्रधानमन्त्रीलाई अवगत गराएको छ, र सरकारले त्यसमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।”

भट्टराईका अनुसार आयोगले आगामी दिनहरूमा निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरूसँगको समन्वय र सहकार्यलाई अझ सघन बनाउने, नागरिक सहभागिता अभिवृद्धि गर्ने र निर्वाचन अभियानलाई सशक्त बनाउनुपर्ने सहमति भएको छ।
यस छलफलले अन्तरिम सरकारको अवधिमा पनि निर्वाचन व्यवस्थापनप्रतिको सरकारी प्रतिबद्धता थप प्रष्ट भएको आयोगले जनाएको छ।

