पर्वत । पटक–पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक निर्माण पूरा नगरेपछि पर्वतको महाशिला गाउँपालिकास्थित लुंखुदेउराली–मिलनचोक–बालाकोट–होश्राङदी सडक आयोजना जिम्मा लिएको ठेकेदारको बैंक जमानत जफत गरिएको छ।
पिआररओमबुद्ध जेभी बसुन्धरा काठमाडौँले लिएको सो आयोजनाको मोबिलाइजेशन पेस्की वापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय पर्वतले असुल गरेको हो।
२०७८ जेठ १८ गते सम्झौता गरिएको उक्त सडक १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर, २०७९ फागुन १७ गतेभित्र सकिनुपर्ने काम पाँच वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेन। कार्यालयका प्रमुख सन्तोष अर्यालका अनुसार, पटक–पटक म्याद थप गरेर २०८१ चैत २९ गतेसम्म समय दिँदापनि ठेकेदारले काममा फर्किन अस्वीकार गरेपछि जमानत जफत गर्नुपरेको हो।
कूल लागत रु ११ करोड २२ लाख ६६ हजार रहेको करिब ६ किलोमिटर लामो सडक आयोजनाको भौतिक र वित्तीय प्रगति दुवै ३५ प्रतिशतमै सीमित छ। निर्माण व्यवसायीलाई बारम्बार मौखिक र लिखित रूपमा पत्राचार गरिए पनि कुनै प्रतिक्रिया नआएपछि अब ठेक्का तोड्ने तयारी गरिएको कार्यालयले जनाएको छ।
निर्माण सुरु गरेपछि ठेकेदार कम्पनी सम्पर्कविहीन बनेको र त्यसले सडकलाई झनै अस्तव्यस्त बनाएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए। उनका अनुसार, नाली व्यवस्थापन नगरी सडक भत्काएर छाडिएकाले गाउँपालिकाको कार्यालय रहेको वडा नं. ५ को काफलडाँडा, वालाकोट र होश्राङदीका बासिन्दालाई आवतजावतमा निकै कठिनाइ भएको छ।
निर्माण सुरु भएपछि ठेकेदारले ४ करोड १३ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। जमानत जफत भए पनि ठेकेदार सम्पर्कमा नआएपछि अन्य कानुनी कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।
गण्डकी प्रदेश सरकारको रणनीतिक सडक आयोजनाअन्तर्गतको यो सडक लामो समयदेखि अलपत्र परेको भन्दै स्थानीयवासीले लापरबाही गर्ने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्न माग गरेका छन्।

