काठमाडौँ । देशका पश्चिमी भूभागमा पश्चिमी वायु सक्रिय बनेसँगै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा यसको प्रभाव परेको छ। गण्डकी प्रदेशको पश्चिमी भागमा पनि पश्चिमी वायुको असर देखिएको छ भने बाँकी भेगमा मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। त्यस्तै, कोशी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङ र मध्यम वर्षा हुने सम्भावना छ।
राति भने कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी अधिकांश क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ। साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले उल्लेख गरेको छ।

