काठमाडौँ । नेपाली सेनाले सुरक्षा परिस्थितिको विश्लेषणपछि उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यूलाई क्रमशः खुकुलो पार्दै निरन्तरता दिने निर्णय गरेको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, निषेधाज्ञा आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म लागू हुनेछ भने कर्फ्यू आज बेलुकी ७ बजेदेखि भोली बिहान ६ बजेसम्म कायम रहनेछ।
नागरिकलाई अत्यावश्यक कार्यका लागि बिहान ६ देखि १० बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म आवतजावत गर्न अनुमति दिइने व्यवस्था गरिएको सेनाले जनाएको छ। यस्तै, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स, शववाहन, दमकल तथा खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ढुवानी गर्ने सवारी साधनलाई निषेधाज्ञा र कर्फ्यूको दायराबाट छुट दिइएको छ।
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायतका सार्वजनिक संस्थानका कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आउजाउ गर्न पाउने व्यवस्था गरिएको छ। साथै, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट देखाएर विमानस्थलसम्म पुग्न सक्ने सेनाले स्पष्ट पारेको छ।
सहायताको आवश्यकता परेमा नजिकका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न आग्रह गर्दै सेनाले उपत्यका बाहिर भने सम्बन्धित जिल्लाको सुरक्षा परिस्थिति अनुसार जिल्ला सुरक्षा समितिहरूले निर्णय गर्ने जनाएको छ।
आम नागरिकको सुरक्षा र मानवीय उद्धारमा सेना निरन्तर प्रतिबद्ध रहेको बताउँदै सुरक्षाकर्मीलाई सहयोग गर्न सबैमा अपील गरिएको छ।

