काठमाडौँ । जेनजी समूहले संसद विघटन गरी अन्तरिम सरकार गठनको माग गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद विघटनको कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट गरेकी छन्।
बुधवार सामाजिक सञ्जालमार्फत उनले संसद विघटनले जनताको सार्वभौम सत्ता र देशको सर्वोच्चतालाई सङ्कटमा पार्ने भएकाले यस्तो कदम गलत हुने टिप्पणी गरेकी हुन्। “नेता भ्रष्टाचारी भएका हुन्, संसद होइन। भ्रष्ट नेताहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ, तर संसद विघटन गरेर समस्या समाधान हुँदैन। संसद विघटन गर्नु भनेको जनताको सर्वोच्चतामाथि आघात पुर्याउनु हो,” सांसद गौतमले लेखेकी छन्।
उनले संवाद र सहमतिमार्फत समस्याको समाधान खोज्नुपर्नेमा जोड दिँदै संसदको रक्षा गर्नुपर्ने आवश्यकता औँल्याइन्। “हाम्रो प्राथमिकता भनेको जनताको आवाज बोक्ने संसदलाई जोगाउनु र समस्याको समाधान संवादबाट खोज्नु हो,” उनले भनिन्।
यससँगै, सांसद गौतमले सोमबारको आन्दोलनमा भएको गोलीकाण्डबारे कडा आपत्ति जनाउँदै त्यसमा संलग्न र आदेश दिनेहरूलाई कानुनी कारबाही गर्न माग गरेकी छन्। उनले भनिन्, “आन्दोलनमा गोली चलाउने र आदेश दिनेहरूले जनताको अधिकारमाथि आक्रमण गरेका छन्। यस्ता कार्यलाई अपराध मानेर कडा कारबाही गर्नुपर्छ।”

