काठमाडौं,
देशको वर्तमान राजनीतिक, आर्थिक र सामाजिक संकटको गहिरो विश्लेषण र त्यसको सही निकास खोज्ने उद्देश्यले नेपाल कम्युनिस्ट पार्टी ,केन्द्रीय समितिले “आजको गम्भीर राष्ट्रिय संकट र सही निकासको प्रश्न” बिषयक एक ऐतिहासिक छलफल कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम आगामी सोमबार, असोज २७ गते का दिन मध्यपुर ठिमीमा दिउँसो १२ बजे सुरु हुनेछ।
यो छलफलमा देशभरका प्रगतिशील, क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रतिनिधिहरू, बामपन्थी बुद्धिजीवी, लेखक, राजनीतिक विश्लेषक, विद्यार्थी र श्रमिक वर्गका अग्रज व्यक्तित्वहरूको सक्रिय सहभागिता रहनेछ। पार्टीका अनुसार, यो कार्यक्रमले हालको राष्ट्रिय संकटको वर्गीय विश्लेषणमार्फत जनआन्दोलनको नयाँ दिशातर्फ निर्णायक योगदान दिनेछ।
नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख कामरेड लक्ष्मण उप्रेतीले जानकारी दिनुहुँदै हामीला भन्नुभयो, “ देश आज गम्भीर राष्ट्रिय संकटको दोभानमा उभिएको छ। दलाल पूँजीवादी, सामन्ती र साम्राज्यवादी शक्तिहरूको संजालले राष्ट्रिय सार्वभौमसत्ता, श्रमजीवी जनताको जीवन र उत्पादन प्रणालीमाथि नै आक्रमण गरिरहेको बेला, एकीकृत वामपन्थी विचार र कार्यदिशाको आवश्यकता इतिहासकै निर्णायक मोडमा पुगेको छ। यही सवालमा हामी गम्भीर छलफल गर्दैछौं र यो छलफल ऐतिहासिक हुनेछ।”
पार्टीले कार्यक्रमलाई “ जनआन्दोलनको नयाँ वैचारिक, राजनीतिक दिशातर्फको कदम ” का रूपमा लिएको छ।
यो छलफल कार्यक्रमले नेपालका वामपन्थी शक्तिहरूबीच विचार र कार्यदिशाको एकता निर्माण गर्दै ठोस अग्रगमन दिशाबोध गर्ने सम्भावना रहेको विश्लेषण गरिएको छ।
स्रोत:- [प्रकाशन तथा प्रचार-प्रसार बिभाग,नेपाल कम्युनिस्ट पार्टी ,केन्द्रिय समिति]

