काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स अन्तर्गत यूएईसँगको भिडन्तमा नेपालले १ रनको सास रोक्ने जित हासिल गरेको छ । १४१ रनको मध्यम लक्ष्य पछ्याएको यूएईलाई नेपाली बलरहरूले २० ओभरमा ९ विकेट लिँदै १३९ रनमा रोके ।
यूएईका लागि अलिशान सराफूले ५८ रनको अर्धशतकीय पारी खेले पनि त्यो टिमलाई जित दिलाउन पर्याप्त भएन । ध्रुव पराशरले ३८ रन बनाए ।
एक समय यूएई ८२-१ को बलियो अवस्थामा पुगेको थियो, तर त्यसपछि नेपालको धारिलो बलिङ आक्रमणले खेलको पासा पल्टायो । यूएईको स्कोर ९९-६ मा झरेपछि क्रिजमा आएका ध्रुव पराशरले ठूला शटहरू खेल्दै खेललाई अन्तिमसम्म जीवितै राखे ।
अन्तिम ओभरको ‘हाई-भोल्टेज’ ड्रामा
अन्तिम ओभरमा यूएईलाई जितका लागि १० रन आवश्यक थियो । बलिङको जिम्मा सम्हालेका दीपेन्द्र सिंह ऐरीलाई पराशरले पहिलो बलमै छक्का प्रहार गरे । तर, तुरुन्तै दीपेन्द्रले उत्कृष्ट पुनरागमन गर्दै पराशरलाई क्याचआउट गराए ।
यसपछि खेल झनै तनावपूर्ण बन्यो । २ बलमा ३ रन चाहिएको बेला एक रनआउटसँगै ‘शर्ट रन’ भएपछि यूएईले कुनै रन जोड्न सकेन । अन्तिम १ बलमा ३ रन आवश्यक हुँदा यूएईले १ रन मात्र जोड्न सक्यो र नेपालले १ रनको रोमाञ्चक जित दर्ता गर्यो ।
नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले अलराउन्डर प्रदर्शन गर्दै ४ ओभरमा मात्र २२ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए । उनीसँगै सन्दीप लामिछाने, सोमपाल कामी र गुल्शन झाले १-१ विकेट लिएर यूएईको दबाबलाई रोकेका थिए ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको आकर्षक अर्धशतक (५१ रन) को मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो । आसिफलाई कुशल भुर्तेलले २८ र कप्तान रोहित पौडेलले २० रन बनाएर साथ दिए । अन्तिममा गुल्शन झाले ५ बलमा १४ रन जोडे ।
सुरुवाती १० ओभरमा १ विकेट गुमाएर ७३ रनको बलियो जग बसालेको नेपालले मध्यक्रममा रनगति सुस्त हुँदा १४० रनमै चित्त बुझाउनुपर्यो । यूएईका लागि जुनेद सिद्दिकीसहित ६ जना बलरहरूले १-१ विकेट लिएका थिए ।