काठमाडौँ, असोज २६ गते। राजनीतिक जीवनका अनुभवी र विचारनिष्ठ नेताका रूपमा चिनिने नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता भलनाथ खनाल हाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा छन् । आफ्नी पत्नी रविलक्ष्मी चित्रकार ‘जेनजी प्रदर्शन’ का क्रममा घाइते भएपछि उपचारका लागि भारत पुगेका खनालले त्यहीँबाट देशको राजनीतिक अवस्थाबारे गहिरो चिन्ता प्रकट गरेका छन् ।
सामाजिक सञ्जालमार्फत देशका सानाठूला सबै दल र आफ्नै पार्टीभित्र समेत “नयाँ वैचारिक, संगठनात्मक र नीतिगत पुनर्गठन” को आवश्यकता रहेको विचार व्यक्त गर्दै उनले लेखेका छन् —
“अब देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ । हरेक सानाठूला दल र जेनजी समूहभित्र उथलपुथल र विभाजन भइरहेको छ । यो युगको माग हो, समयको माग हो र सिङ्गो राष्ट्रको मागसमेत हो ।”
खनालको यो वक्तव्य खासगरी पछिल्ला दिनमा वामपन्थी दलहरूबीच पुनःएकीकरणको चर्चा चलिरहेका बेला आएको हो । तर उनले स्पष्ट रूपमा भनेका छन् —
“यो कसैसँग पनि पार्टी एकीकरण गर्ने समय होइन र छैन । हामी कोही पनि गलत बाटोमा हिँड्दै भड्खालोमा पर्ने दिशातर्फ लाग्न हुँदैन ।”
चार वर्षअघि सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनपछि पार्टीको कार्यदिशा र जनसंपर्कमा आएको कमजोरीप्रति पनि उनले आत्मालोचना गरेका छन् । उनका अनुसार, पार्टीले युवाहरूको आवाजलाई प्राथमिकता दिन नसक्नु ठूलो कमजोरी हो । त्यसैले अब पार्टीभित्रैबाट युवा नेतृत्व र तिनको विचारलाई सम्मान गर्दै संगठनात्मक पुनर्गठन गर्नुपर्ने समय आएको उनले जोड दिएका छन् ।
खनालको भनाइमा, “सिंहदरबारको राजनीतिमा होइन, सडक र जनजीवनको सवालमा जोडिने पार्टी नै अबको आवश्यकता हो।”
उनका अनुसार, सबै वामपन्थी तथा प्रगतिशील शक्तिहरूलाई एक ठाउँमा ल्याई “बृहत् राष्ट्रिय मोर्चा” को निर्माण गरेर आगामी प्रतिनिधिसभा निर्वाचनमा खटिनु आजको राजनीतिक कार्यदिशा हुनुपर्छ ।
राजनीतिक रूपमा अस्थिर र वैचारिक रूपमा दिशाहीन भइरहेको परिवेशमा, दिल्लीबाट आएको खनालको यो सन्देश नेपाली वाम राजनीतिलाई पुनर्विचार गर्न प्रेरित गर्ने प्रयासका रूपमा हेरिएको छ ।