काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली राजनीतिको वर्तमान गतिरोध तोड्नका लागि एक साहसिक र अप्रत्याशित प्रस्ताव अघि सारेका छन्। देशको राजनीतिमा दशकौँदेखि केन्द्रमा रहँदै आएका तीन प्रमुख दलका शीर्ष नेताहरूलाई ‘बिदाइ’ गरेर नयाँ पुस्ता र नयाँ सोचका लागि मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ छ।
आइतबार एक भिडियो सन्देशमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री थापाले स्पष्ट शब्दमा भने, ‘तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौँ, संवादको नयाँ वातावरण प्रारम्भ गरौँ।’
उनको यो आह्वान वर्तमान राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि मात्र नभई नयाँ पुस्तालाई जिम्मेवारी सुम्पने र अर्थपूर्ण संवादको थालनी गर्ने एउटा अपिलका रूपमा आएको छ।
थापाले आवश्यक परेमा आफूहरू पनि पदबाट बाहिरिन तयार रहेको स्पष्ट पारेर राजनीतिक इमानदारी देखाएका छन्। उनले भने, “आवश्यक परेमा हामी पनि बाहिरिन तयार छौँ।”
महामन्त्री थापाले वर्तमान सरकार र विशेषगरी युवा पुस्ता (‘जेन-जी’) लाई लक्षित गर्दै देशमा निर्वाचनको वातावरण बनाउन पनि आग्रह गरेका छन्। उनले परिणामको चिन्ता नगरी संविधान संशोधनजस्ता महत्त्वपूर्ण कार्यहरूमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्।
‘हारौँला केही फरक पर्दैन। को जित्ने को हार्ने? संविधान संशोधनको लागि काम गर्नुपर्छ,’ उनले भनेका छन्। थापाको यो प्रस्तावले नेपाली राजनीतिमा ठूलो बहस सिर्जना गर्ने र पुस्ता हस्तान्तरणको मागलाई थप बल पुर्याउने देखिन्छ।