काठमाडौं। नेपाली राजनीतिको एक उच्च पदमा पुगिसकेका र लामो समय सत्ताको केन्द्रमा रहेका नेताका लागि आइतबारको दिन अप्रत्याशित रूपमा फन्दामा पर्ने दिन बन्यो। पूर्वसभामुख तथा प्रभावशाली नेता कृष्णबहादुर महरा लाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भन्सार ऐन उल्लंघन र संगठित अपराधको गम्भीर कसुरमा नियन्त्रणमा लिएको छ।
यो पक्राउ केवल एउटा कानुनी कारबाही मात्र नभई, उच्च तहको राजनीतिक शक्तिको आडमा लामो समयदेखि थन्किएको एक ठूलो आपराधिक फाइलको अनुसन्धानको ढोला खुलेको संकेत हो।
‘ई-सिगरेट’ भित्र लुकाइएको ‘सुनको खेल’:
प्रकरणको जरा २०७९ पुस १० गते दुबईबाट काठमाडौं उत्रिएको फ्लाई दुबईको उडानसँग जोडिएको छ। चीनका नागरिक ‘लि हेङसोङ’ ले ल्याएको दुईवटा सुटकेशभित्र लुकाइएका थिए, ७३० थान इलेक्ट्रोनिक सिगरेट (भेप)। यी भेपहरूलाई भन्सार कार्यालयले अवैध घोषित गरी आफ्नो स्टोरमा जफत गरेको थियो।
तर, खेल यहाँबाट सुरु भयो। जफत गरिएका ती भेपहरूभित्र लुकाइएको थियो, आठ करोड पचपन्न लाख भन्दा बढी मूल्यको सुन !
नेपाल सरकारको जिम्मा र संरक्षणमा रहेको स्टोरबाटै भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्कासहितको एक आपराधिक समूहले ती सुनसहितका भेपहरूको अवैध बेचबिखन गरी संगठित रूपमा आपराधिक लाभ लिएको खुलासा भयो। यो जघन्य संगठित अपराधको जालोमा महराको संलग्नता देखिएपछि सीआईबीले उनलाई पक्राउ गरेको हो।
जब फेरियो शक्तिको पर्दा अनुसन्धानको शुरुवात कि नाटक मञ्चन ?
सीआईबीले दाबी गरेअनुसार, महरा यसअघि पनि अनुसन्धानको दायरामा तानिएका थिए। तर, उनीसँग रहेको सत्ता र शक्तिको आडमा यो संवेदनशील फाइललाई अगाडि बढ्न दिइएको थिएन। पूर्वसभामुख समेत रहेका एकीकृत नेकपा माओवादी केन्द्रका उपाध्यक्ष महराको यो गिरफ्तारीले लामो समयदेखि राजनीतिक दबाबमा रहेको अनुसन्धानले आफ्नो बाटो पाएको देखाउँछ।
भन्सार ऐन, २०६४ र आपराधिक लाभ तथा संगठित अपराध कसुर अन्तर्गत महरामाथि अब विस्तृत अनुसन्धान हुनेछ। यो घटनाले नेपालको राजनीतिमा ‘पुस्ता हस्तान्तरण’ को बहस चलिरहेका बेला, वर्तमान नेतृत्वको नैतिक धरातलमाथि गम्भीर प्रश्नहरू खडा गरिदिएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)द्वारा जारी विज्ञप्ती