काठमाडौं। टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलमा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार ओमानको अल अमेरतमा भएको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै सुपर–६ चरणमा पुग्ने सम्भावना बलियो बनाएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रनको प्रतिस्पर्धी योगफल तयार गर्यो। ओपनर कुशल भुर्तेलले ५६ बलमा ६६ रनको शानदार पारी खेल्दै टोलीलाई स्थिर सुरुवात दिलाए। अन्त्यतिर गुल्सन झाले ६ बलमा २० रनको तीव्र योगदान दिए। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २० र कप्तान रोहित पौडेलले १६ रन जोडे।
१४२ रनको लक्ष्य पछ्याएको कुवेत नेपाली बलिङ अघि धराशायी भयो। सम्पूर्ण टोली १८.१ ओभरमै ८३ रनमा अलआउट भयो। नेपालका बलरमध्ये सन्दीप लामिछाने, ललितनारायण राजवंशी र कप्तान रोहित पौडेलले समान दुई–दुई विकेट, जबकि कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिएका थिए।
कुवेतका बलर अनुदीप चन्दमार र नविनराज राजेन्द्रनले दुई–दुई विकेट हात पारे पनि उनीहरूको प्रयास व्यर्थ रह्यो।
नेपालको यस जितसँगै टोलीको आत्मविश्वास उच्च बनेको छ र आगामी खेलहरूमा सुपर–६ चरणमा स्थान पक्का गर्ने लक्ष्य अझ नजिक पुगेको छ।

