काठमाडौं । अब मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि आफ्नो स्थायी ठेगाना भएको जिल्लामा नै जानु पर्ने बाध्यता रहने छैन। निर्वाचन आयोगले अनलाइन फारम भरेपछि देशभरका कुनै पनि जिल्ला निर्वाचन कार्यालयमा गएर फोटो खिचाउन र बायोमेट्रिक विवरण दिन सकिने व्यवस्था गरेको छ।
आयोगले जारी गरेको सूचनाअनुसार, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका तयारीस्वरूप उमेर पुगेका तर नामावलीमा सूचीकृत नभएका नागरिकलाई तत्काल नाम दर्ता गर्न आह्वान गरिएको छ।
काठमाडौं उपत्यकामा पनि सहज व्यवस्था
उपत्यकामा बसोबास गरिरहेका मतदाताले अब काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला निर्वाचन कार्यालयहरूमा गएर मतदाता नामावलीमा नाम लेखाउन सक्नेछन्।
काठमाडौंका लागि — मिनभवनस्थित जिल्ला निर्वाचन कार्यालय
ललितपुरका लागि — जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय
भक्तपुरका लागि — सल्लाघारी सिर्जनानगरस्थित जिल्ला निर्वाचन कार्यालय
यस व्यवस्थाले उपत्यकामा रहेका तर स्थायी घर अन्य जिल्लामा भएका नागरिकलाई आफ्नो जिल्लामा फर्किनु नपरी उपत्यकाबाटै नाम दर्ता गर्ने सहजता प्रदान गरेको आयोगले जनाएको छ।
अनलाइन फारम अनिवार्य
मतदाता नामावलीमा नाम लेखाउने प्रक्रिया सुरु गर्न इच्छुकले पहिले आयोगको अनलाइन पोर्टलमा फारम भर्नु पर्ने छ। त्यसपछि जुनसुकै जिल्ला निर्वाचन कार्यालयमा पुगेर फोटो खिचाउने र बायोमेट्रिक प्रक्रिया पूरा गर्न सकिनेछ।
आयोगका अनुसार, यस प्रणालीले नागरिकको पहुँच र सहभागिता दुवै बढाउने अपेक्षा गरिएको छ ।
