काठमाडौं । सामाजिक सञ्जाल बन्दविरुद्ध भएको आन्दोलनमा १९ जनाले ज्यान गुमाएपछि नेपालस्थित सात देशका दूतावासहरूले संयुक्त वक्तव्य जारी गर्दै गहिरो दुःख व्यक्त गरेका छन्।
अमेरिका, अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र र बेलायतका दूतावासहरूले सोमबार संयुक्त विज्ञप्ति निकाल्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। वक्तव्यमा भनिएको छ, “यी घटनाहरूका कारण उत्पन्न भएको मानवीय क्षतिले हामीलाई संवेदनशील बनाएको छ। हामी पीडित परिवारजन र प्रभावितहरूलाई हार्दिक समवेदना प्रकट गर्दछौं तथा घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।”
दूतावासहरूले नेपालमा शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वतन्त्रताको सार्वभौमिक अधिकारलाई आफ्नो दृढ समर्थन रहेको पुनः व्यक्त गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउँछन्। हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण समाधान खोज्न र यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं।”
यसअघि संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (UNHCHR)ले पनि नेपाल सरकारलाई शान्तिपूर्ण भेला र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान र संरक्षण गर्न अपिल गरेको थियो।

