काठमाण्डौ । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स अन्तर्गत नेपालले कतारमाथि रोमाञ्चक ५ रनको साँघुरो जित हासिल गर्दै आफ्नो विश्वकप यात्रालाई थप बलियो बनाएको छ। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा नेपाली क्रिकेट टोलीले आफ्नो ऐतिहासिक १००औँ अन्तर्राष्ट्रिय खेल खेलेको दिन यो उत्कृष्ट विजय हात पार्यो।
१४८ रनको मध्यम लक्ष्य पछ्याएको कतारले अन्तिमसम्म कडा टक्कर दिएको थियो। खेल तनावपूर्ण अवस्थामा पुग्दा नेपाली बलरहरूले असाधारण धैर्य र क्षमता प्रदर्शन गरे। १९ ओभर ५ बलसम्म मात्र टिकेको कतार १४२ रनमा समेटिएपछि नेपालले ५ रनको संघर्षपूर्ण जित सुनिश्चित गर्यो।
नेपालको यो महत्त्वपूर्ण जितको नायक बने स्पिन जादूगर सन्दीप लामिछाने। उनले आफ्नो करिअरकै उत्कृष्ट प्रदर्शनमध्ये एक गर्दै ३.५ ओभरमा मात्र १८ रन खर्चिएर ५ महत्त्वपूर्ण विकेट लिए। कतारको ब्याटिङ लाइनअप ध्वस्त पार्दै नेपाललाई जितको नजिक पुर्याउने सन्दीपले यसै खेलका क्रममा एक ठूलो व्यक्तिगत उपलब्धि पनि हासिल गरे।
कतारका ओपनर लियानागेलाई बोल्ड आउट गर्ने क्रममा उनले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो २५०औँ विकेट पूरा गरेर आफ्नो जादुई क्षमतालाई पुनः प्रमाणित गरे।
सोमबारको खेल नेपाली क्रिकेटका लागि केवल जित मात्र नभई ऐतिहासिक कोशेढुङ्गा पनि बन्यो। २०७९ कात्तिक २५ मा पहिलोपटक कप्तानी सम्हालेका रोहितकुमार पौडेल को नेतृत्वमा राष्ट्रिय टोलीले यो आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेल खेलेको हो।
रोहितको स्थिर र परिपक्व कप्तानीमा नेपालले टी-२० आई र एकदिवसीयमा उल्लेख्य सफलता प्राप्त गरेको छ। उनको कप्तानीमा नेपालले अहिलेसम्म टी–२० आईमा ३० जित, १८ हार र ३ बराबरी तथा एकदिवसीयमा २५ जित र २० हारको सानदार रेकर्ड बनाएको छ। उनको कुशल नेतृत्व र टिम एकताकै कारण नेपाल अहिले विश्वकपको फाइनल चरण नजिक पुग्न सफल भएको छ।