भक्तपुर । अखिल नेपाल कम्युनिस्ट पार्टीको पोलिटब्युरो विस्तारित बैठक केन्द्रीय कार्यालय, भक्तपुरमा सम्पन्न भएको छ । अध्यक्ष नारायण शर्माको अध्यक्षतामा बसेको उक्त बैठकले पार्टीलाई संस्थागत, योजनाबद्ध र क्रान्तिकारी धारमा अघि बढाउने उद्देश्यले ऐतिहासिक निर्णय गरेको प्रवक्ता मुकुन्द आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा प्रस्तुत प्रतिवेदन, विधान, नियमावली तथा आर्थिक उत्पादन सम्बन्धी योजनाबारे गहन छलफल भएको र तिनलाई सुझावसहित परिमार्जन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । यस कदमलाई पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक स्पष्ट दिशामा लैजाने प्रयासका रूपमा लिइएको छ ।
पार्टीलाई सातै प्रदेश र जनवर्गीय संगठनमार्फत तलसम्म पु¥याउने, पुनर्गठन गर्ने तथा सक्रिय बनाउने निर्णय बैठकको अर्को महत्त्वपूर्ण पक्ष हो । यसले व्यापक क्रान्तिकारी शक्तिहरूसँग एकता र ध्रुवीकरणलाई तीव्र बनाउने आधार तयार गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले मिटरब्याज पीडित, उखु किसान र दुग्ध किसानलगायतका आन्दोलनसँग ऐक्यबद्धता जनाउँदै पार्टीलाई जनतामाझ लोकप्रिय र विश्वासिलो बनाउन भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
त्यसैगरी, भारत–चीनबीच भएको लिपुलेक सम्झौतामाथि कडा आपत्ति जनाउँदै त्यसविरुद्ध आन्दोलन गर्ने निर्णय बैठकको विशेष अंश रह्यो । यसलाई राष्ट्रियता, स्वाधीनता र सामन्तवाद–साम्राज्यवादविरुद्धको दीर्घकालीन क्रान्तिकारी दृष्टिकोणसँग जोडिएको बताइएको छ ।
बैठकले आगामी २०८२ मंसिरमा मधेश प्रदेशमा केन्द्रीय समिति बैठक आयोजना गर्ने तथा आवश्यकता परे राष्ट्रिय भेला समेत गर्ने निर्णय गरेको छ ।
समग्रमा, बैठकले संगठनात्मक सुदृढीकरण, वैचारिक–राजनीतिक स्पष्टता, जनआन्दोलनसँग ऐक्यबद्धता र राष्ट्रिय स्वाधीनताको रक्षा जस्ता एजेन्डालाई प्राथमिकता दिँदै पार्टीलाई संगठित, जनमुखी र क्रान्तिकारी धारातर्फ अघि बढाउने मार्गचित्र तय गरेको देखिन्छ ।

