काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पुँजीबजारमा देखिएका समस्याहरूको अध्ययन र समाधानका लागि चार सदस्यीय कार्यदल गठन गरेका छन्।
शुक्रबार मन्त्रीस्तरीय निर्णयमार्फत गठित कार्यदलको संयोजकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसी तोकिएका छन्। कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का कायम मुकायम कार्यकारी निर्देशक निरन्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य रहेका छन्। उपसचिव निरौलालाई सदस्य सचिवको जिम्मेवारी पनि दिइएको छ।
जेनजी आन्दोलनका कारण एक हप्ताभन्दा बढी समय बन्द रहेको सेयर बजार बिहीबार खुलेपछि १६० अंकले घटेको थियो। यो अवस्थालाई मध्यनजर गर्दै अर्थमन्त्री खनालले पुँजीबजारमा देखिएका विसङ्गति र चुनौतीहरू समाधान गर्न कार्यदल गठन गरेको जनाइएको छ।
अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार, कार्यदललाई पुँजीबजारमा देखिएका समस्या अध्ययन गरी लगानीकर्ताको मनोबल बढाउने प्रणालीगत र प्रक्रियागत सुधारका लागि ठोस कार्ययोजना बनाउन जिम्मेवारी दिइएको छ। कार्यदलले पाँच दिनभित्र सुझावसहितको कार्यान्वयन योजना पेश गर्नुपर्नेछ।

