काठमाडौं ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिको कारण हालसम्म कुल रु २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ बराबरको बीमा दाबी दर्ता भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार यो दाबी विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा परेको छ।
प्राधिकरणका तथ्याङ्कअनुसार सबैभन्दा बढी दाबी दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ। सो कम्पनीमा ४० वटा दाबी दर्ता भई रु पाँच अर्ब १४ करोड ७९ लाख ६५ हजार बराबरको दाबी भएको छ। त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २५८ वटा दाबी दर्ता भई रु चार अर्ब ९३ करोड २२ लाख ७९ हजार ५०० बराबर पुगेको छ।
शिखर इन्स्योरेन्समा ३६६ वटा दाबी दर्ता भई रु दुई अर्ब ३९ करोड चार लाख ७७ हजार ७६४, आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दाबी दर्ता भई रु एक अर्ब ५९ करोड छ लाख ८० हजार ८००, र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ वटा दाबी भई रु एक अर्ब ४७ करोड ५५ लाख ३१ हजार ६६६ बराबर पुगेको छ।
यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ दाबी दर्ता भई रु एक अर्ब १५ करोड ६२ लाख ८२ हजार ९७९, नेको इन्स्योरेन्समा ४० दाबी भई रु एक अर्ब नौ करोड ५३ लाख ६५ हजार २०७, र सानिमा जिआईसीमा १२९ दाबी भई रु ७८ करोड ९३ लाख ७९ हजार बराबर दाबी भएको छ।
अन्य बीमा कम्पनीहरूमध्ये राष्ट्रिय बीमा कम्पनीमा १७२ दाबी भई रु ४९ करोड ५१ लाख, युनाइटेड अजोडमा १७० दाबी भई रु ४८ करोड ७४ लाख ७५ हजार ३६०, नेपाल इन्स्योरेन्स कम्पनीमा ७९ दाबी भई रु ४६ करोड ९४ लाख ९८ हजार, एनएलजी इन्स्योरेन्समा १५१ दाबी भई रु ३८ करोड ५८ लाख २२ हजार, प्रभु इन्स्योरेन्समा ६९ दाबी भई रु १९ करोड १८ लाख, नेशनल इन्स्योरेन्समा १९ दाबी भई रु छ करोड ८२ लाख ९० हजार ७५६ बराबरको दाबी भएको छ।
यस्तै, माइक्रो इन्स्योरेन्स कम्पनीहरूमा पनि साना दाबीहरू दर्ता भएका छन्। प्रोटेक्टिभ माइक्रोमा नौ दाबी भई रु एक करोड १३ लाख २२ हजार ८००, स्टार माइक्रोमा छ दाबी भई रु ६७ लाख सात हजार ६५०, नेपाल माइक्रोमा १५ दाबी भई रु ५६ लाख ३६ हजार, र ट्रष्ट माइक्रोमा आठ दाबी भई रु ४२ लाख बराबरको दाबी दर्ता भएको छ।
कुल मिलाएर हालसम्म १,९८४ वटा दाबी दर्ता भएको प्राधिकरणले जनाएको छ।
बीमा व्यवसायी सङ्घको प्रतिबद्धता
नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएको छ। सङ्घले बीमा गरिएका सवारीसाधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित आवश्यक कागजात चाँडै बुझाउन बीमितलाई आग्रह गरेको छ।
सङ्घका अध्यक्ष राजेन्द्र मल्लले बीमा कम्पनीहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बीमितको क्षतिपूर्ति छिट्टै भुक्तानी गर्ने उद्देश्यका साथ काम गरिरहेको बताए। उनले २०७२ को भूकम्प र कोभिड–१९ महामारीपछिका अनुभवले बीमाको आवश्यकता अझै स्पष्ट भएको भन्दै वर्तमान अवस्थामा बीमा कम्पनीहरूको सक्रियता सकारात्मक देखिएको टिप्पणी गरे।
सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जलि अर्पण गरेको छ भने क्षतिग्रस्त सम्पत्तिको दाबी भुक्तानीलाई प्राथमिकतामा राख्न मातहतका निकायलाई आह्वान गरेको छ।