काठमाडौँ। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताको राहदानी रोक्का गर्ने सिफारिसप्रति गुण्डु बैठकले कडा आपत्ति जनाएको छ।
भाद्र २३ र २४ को घटनाबारे छानबिनका लागि बनेको जाँचबुझ आयोग, २०८२ ले असोज १२ गते यस्तो सिफारिस गरेको समाचार सार्वजनिक भएपछि आइतबार गुण्डुमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले यसलाई “राजनीतिक प्रतिशोध” को संज्ञा दिँदै विरोध जनाएको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले भने,
“दशैँको बेला पारेर गरिएको यो प्रतिशोधपूर्ण कदमले आयोगकै विश्वसनीयतामै गम्भीर प्रश्न खडा भएको छ।”
उनका अनुसार गृह मन्त्रालयले भदौ २४ को विध्वंसकारी घटनामा संलग्न दोषीमाथि कारबाही नगर्न नेपाल प्रहरीलाई दिएको निर्देशन आपत्तिजनक भएको एमालेको ठहर छ।
ज्ञवालीले सो निर्देशन अपराधीको मनोबल बढाउने र उन्मुक्ति दिने मनसायसहित आएको आरोप लगाए।
एमालेले नेपाल प्रहरीलाई निष्पक्ष रूपमा काम गर्न दिने वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
यसैबीच, पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय लिन पार्टीको दशौँ केन्द्रीय कमिटी बैठक असोज २७ देखि २९ गतेसम्म काठमाडौँमा बस्ने निर्णय भएको एमालेले जनाएको छ।