काठमाडौं। अमेरिकाको मिशिगन राज्यमा रहेको एक चर्चमा आइतबार बिहान भएको आक्रमणमा कम्तीमा ४ जनाको ज्यान गएको छ।
ग्रान्ड ब्ल्याक सहरस्थित जिसस क्राइस्ट अफ लेटर डे सान्ट्स चर्चमा गाडी लिएर प्रवेश गरेका ४० वर्षीय थोमस ज्याकब स्यानफोर्डले स्वचालित राइफलबाट अन्धाधुन्ध गोली प्रहार गरेका थिए। गोलीकाण्डमा ४ जनाको मृत्यु भएको र चर्चमा आगजनीसमेत भएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीको तत्कालीन कारबाहीमा आक्रमणकारी मारिएको बताइएको छ। आगलागीका कारण चर्चमा ठूलो भौतिक क्षति पुगेको छ भने केही मानिस अझै सम्पर्कविहीन छन्।
घटनाको कारण अझै स्पष्ट भएको छैन। तर, हत्या र आगजनीपछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।
यसअघि नर्थ क्यारोलिनाको साउथपोर्ट सहरमा भएको अर्को गोलीकाण्डमा ३ जनाको ज्यान गएको थियो। त्यसको केही घण्टापछि मिशिगनमा पुनः रगतपात मच्चिएको हो।