काठमाडौं। फुलपातीको दिनसँगै उपत्यका छाड्ने यात्रुको भीड तीव्र बनेको छ। राजधानीका प्रमुख नाकाहरू – नयाँ बसपार्क, कोटेश्वर, जडिबुटी, कलंकीलगायत स्थानहरूमा बिहानैदेखि घर फर्किनेहरूको ठूलो चहलपहल देखिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै एक लाख ११ हजार ६३९ जनाले उपत्यका छाडेका छन्। सोही अवधिमा १८ हजार ६१३ सवारी साधन बाहिरिएका छन्। तर, त्यही दिन ६१ हजार ८२२ जना भने उपत्यकामा प्रवेश गरेका छन्।
घटस्थापनादेखि हालसम्म कूल ४ लाख ६७ हजार ९७७ जनाले उपत्यका छाडिसकेको उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन्।
विद्यालय, सरकारी तथा निजी कार्यालयमा विदा सुरु भएपछि उपत्यका बाहिरिनेहरूको संख्या अझ बढ्ने अनुमान गरिएको छ।