गोरखा। बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा गोरखा दरबारस्थित दसैँघरमा विशेष पूजाअर्चना गरी फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको छ।
आज बिहान ७ः३० बजे शुभसाइतमा सुसारेहरूले पूजाअर्चना सम्पन्न गरी फूलपाती सरकारी गाडी (बा २ झ ३८८२) मार्फत पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए।
फूलपातीको डोली गोरखा दरबारबाट बाजागाजासहित र्याली निकालेर बिदाइ गरिएको थियो। गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईका अनुसार गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारमा आज साँझ हर्षबढाइका साथ भित्र्याइने परम्परा छ।
यो परम्परा तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौँ प्रवेश गरी हनुमानढोकाबाट राजकाज सञ्चालन गर्न थालेदेखि निरन्तर चल्दै आएको हो। त्यसयता हरेक वर्ष गोरखा दरबारको दसैँघरबाट फूलपाती पठाउने चलन कायम छ।
फूलपाती बिदाइ कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरलगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।
गोरखा दरबारकै दसैँघरमा पनि आज साँझ फूलपातीको अवसरमा विशेष समारोह आयोजना हुने जनाइएको छ।

