काठमाडौं, असोज १३ –
बडादसैँ तथा नवरात्रको नवौँ दिन सोमबार देशभर दसैँघर तथा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ।
प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा रहेको छ। तर यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवरात्रको नवौँ दिन अर्थात् सोमबार महागौरी देवीको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिनुभयो।
किंवदन्तीअनुसार, महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले ख्यालठट्टामा ‘ए काली’ भनेर सम्बोधन गर्नुभएको थियो। उक्त सम्बोधन देवीलाई मन नपरेपछि उहाँले कठोर तपस्या गर्नुभयो। तपस्यापछि गोरो वर्ण प्राप्त गरेकी कारण उहाँलाई महागौरी नामले चिनिने गरिएको पुराणमा उल्लेख छ। महागौरी देवी सेतो वृषभमाथि आरूढ, श्वेतवस्त्र धारण गरेकी र गोरो वर्णकी स्वरुपमा प्रकट हुन्छिन् भनी विभिन्न शास्त्रीय ग्रन्थमा वर्णन गरिएको पाइन्छ।
यसअघि नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजाआराधना गरिएको थियो।
दशैँघर र पूजाकोठामा गरिने नवरात्रपूजा आज महागौरी देवीको आह्वानसँगै आठौँ चरणमा प्रवेश गरेको छ।