काठमाडौं । नेपालले वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलाको उपाधि एक खेल अगावै जितेको छ। सोमबार शारजाह क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले हरायो।
पहिलो खेलमै विजयी भएको नेपालले दोस्रो खेलमा पनि प्रभावशाली प्रदर्शन गर्दै २–० को अपराजित अग्रता बनाएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रनको चुनौतीपूर्ण योगफल बनायो। आसिफ शेखले ४७ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै अविजित ६८ रन जोडे। त्यस्तै, सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै ३९ बलमा ६३ रन (५ छक्का, ३ चौका) थपे।
लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा अलआउट भयो। जेसन होल्डरले सर्वाधिक २१ रन बनाए भने एकिम अगष्टले १७ र अमिर जांगोले १६ रनको योगदान गरे।
नेपालका बलरहरू चम्किए — आदिल आलमले ४ विकेट लिँदा कुशल भुर्तेलले ३ विकेट हात पारे। ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए।
बलिङतर्फ वेस्ट इन्डिजका कप्तान अकिल होसेन र कायल मायर्सले २–२ विकेट लिए भने जेडिया ब्लेड्सले १ विकेट लिए।
नेपालको लगातार उत्कृष्ट प्रदर्शनसँगै यो शृङ्खला नेपालको क्रिकेट इतिहासमा नयाँ अध्यायका रूपमा अंकित भएको छ।

