काठमाण्डौ । सभामुख देवराज घिमिरेले विघटित संसदका सचेतक, प्रमुख सचेतकलगायत सित बुधबार छलफल गरेका छन् । मुलुकको समसामयिक राजनीतिक अवस्थामा कसरी अगाडि बढ्ने भन्ने राय बुझ्न दलहरूसँग परामर्श सुरु गरेका हुन् ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तत्कालीन प्रमुख सचेतक र सचेतक सहभागी भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नागरिक उन्मुक्ति पार्टी बाहेकका दलका प्रतिनिधि सहभागी भएका थिए ।
पछिल्ला दिनमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायतका राजनीतिक दलका पदाधिकारी तथा केन्द्रीय समितिको बैठक चलिरहेका बेला सभामुखसँगको यो भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सभामुख देवराज घिमिरेले लोकतन्त्र, प्रजातन्त्र र संविधान रक्षाका लागि काम गर्ने बताएका छन् । जेनजी युवा आन्दोलनपछि गरिएको संसद विघटनबारे नेताहरुको धारणा सुनिसकेपछि सभामुख घिमिरेले भने, ‘लोकतन्त्र, प्रजातन्त्र र संविधान रक्षाका लागि मैले के गर्नुपर्छ ? म आफ्नो तर्फबाट गर्छु ।’

बैठकमा सहभागीमध्ये नेकपा एमालेले संसद पुनर्स्थापनाको अडान लिएको थियो भने अन्यले चुनावको वातावरणमा बढी जोड दिएको एक सहभागीले बताए ।