काठमाण्डौ । अहिलेको राजनीतिक संकटको समाधान संविधानका प्रावधानमा मात्रै खोजेर सम्भव नभएको बताउँदै आगामी निर्वाचनमार्फत नै मुलुकको निकास खोज्नुपर्ने धारणा नेकपा (माओवादी केन्द्र)ले व्यक्त गरेको छ ।
बुधबार सभामुख देवराज घिमिरेले सिअंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका तर्फबाट नेता हितराज पाण्डेले हालको परिस्थितिमा संसद् पुन:र्स्थापनाको माग यथार्थपरक नहुने टिप्पणी गरे ।
उनले भने, “संविधानको किताब हेरेर अहिलेको निकास निस्कन्न । परिस्थिति हेरेर अघि बढ्नुपर्छ ।” पाण्डेले जेन–जी आन्दोलनलाई “इतिहासकै दुर्लभ घटना” भन्दै माओवादीसहित सबै दलले आफ्ना कमजोरीहरूको इमानदार समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए ।
“संविधानको किताब हेर्दा अहिलेको सरकार गठन र विघटन असंवैधानिक देखिन सक्छ,” उनले थपे, “तर अहिलेको परिस्थितिमा निकास भनेको चुनाव नै हो । सरकारले त्यसका लागि वातावरण तयार गर्नुपर्छ ।”