मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका सुशीला कार्कीलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन्।
मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सन्देश पोस्ट गर्दै भनेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई मेरो हार्दिक बधाई र शुभकामना। भारत नेपालका जनताको शान्ति, प्रगति र समृद्धिका लागि सधैं प्रतिबद्ध रहनेछ।”
भारतले शुक्रबार राति नै नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत जनाएको थियो। पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई भारतले नेपालको शान्ति र स्थायित्वतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ।
यसैबीच, भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “निकटतम छिमेकी, साझा लोकतान्त्रिक मूल्य र दीर्घकालीन विकास साझेदारको रूपमा भारत नेपालसँग दुवै देश र जनताको समृद्धि र हितका लागि नजिकबाट सहकार्य गर्न प्रतिबद्ध छ।”
भारतको यस समर्थनलाई नेपाल-भारत सम्बन्धमा नयाँ सकारात्मक ऊर्जा थप्ने कूटनीतिक संकेतका रूपमा हेरिएको छ।

