काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ कार्यकक्ष तयार गर्न थालिएको छ । सिंहदरबारको पश्चिमोत्तर भागमा गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा आगजनीबाट जोगिएका पुरानै सरसामान सारेर कार्यकक्ष निर्माणमा नेपाली सेनासहितका सुरक्षाकर्मी र कर्मचारी जुटेका छन् ।
आज बिहानदेखि पूरानो प्रधानमन्त्री कार्यालयबाट आगजनी र तोडफोड हुनबाट बचेका टेबल, कुर्सी, सोफा, कम्प्युटरलगायत सरसामग्री नयाँ कार्यालयतर्फ सार्ने काम भइरहेको छ । पूरानै फर्निचर, उपकरण र सामग्रीको व्यवस्थापन गरेर नयाँ प्रधानमन्त्री कार्यालय सञ्चालनका लागि तयारी तीव्र बनाइएको छ ।
यता, आगजनी भएको पाँचौँ दिनसम्म पनि सिंहदरबारको पश्चिम भागमा आगो निभ्न सकेको छैन । तोडफोड र आगजनी भएका मन्त्रालय परिसरमा जलेका सवारीसाधन, कागजपत्रलगायतका सामग्री अझै छरपस्ट छन् ।
यसैबीच, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भने शनिबार बिदाको दिन भए पनि सचिव चुडामणि पौडेलको नेतृत्वमा ठूलो संख्यामा कर्मचारीहरू स्वस्फूर्त रूपमा सरसफाइमा जुटेका छन् । मन्त्रालय परिसरमा जलेका सवारीसाधन ‘मानव कङ्काल’ जस्तै अवस्थामा भेटिएका छन् । भूमिगत पार्किङमा रहेका गाडीसमेत प्रदर्शनकारीले जलाएका थिए ।
मन्त्रालयका प्रवक्ता सहसचिव शिवकुमार सापकोटाले बिहान ८ बजेदेखि नै कर्मचारीहरू जुटेर सरसफाइ र फोहर व्यवस्थापन सुरु गरेको बताए । उहाँले भन्नुभयो, “सरसफाइ सुरु गरेका छौँ, केही समय लाग्छ । त्यसपछि मर्मतसम्भारतर्फ लाग्छौँ । कर्मचारीबाट सक्दो काम गर्ने प्रयास भइरहेको छ ।”
प्रवक्ता सापकोटाका अनुसार क्षतिको लगत संकलन गर्न टोली गठन गरिएको छ । गाडी, कम्प्युटर, फर्निचर, टेलिभिजनसहितका सामग्रीमा ठूलो क्षति पुगेको छ तर हालसम्म सम्पूर्ण मूल्यांकन हुन बाँकी छ ।
संरचनागत क्षति नभएको स्थानमा तत्काल मर्मत गरी कार्यालयलाई पूर्ववत् बनाउन सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो । शिक्षा मन्त्रालयका कर्मचारीको सक्रिय पहलले अन्य क्षतिग्रस्त मन्त्रालय र कार्यालयलाई पनि काममा फर्कने प्रेरणा दिने अपेक्षा गरिएको छ ।

