काठमाडौं, भदौ २६ – नेपाली सेनाले उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु आदेशलाई निरन्तरता दिँदै समयमा केही परिवर्तन गरेको छ। अब निषेधाज्ञा भदौ २७ गते शुक्रबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म लागू हुनेछ भने बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यु जारी रहनेछ।
सेनाले जारी गरेको विज्ञप्तिमा पछिल्लो सुरक्षा परिस्थितिको मूल्याङ्कनपछि नागरिकको जनधनको सुरक्षाका लागि यस्तो निर्णय गरिएको उल्लेख छ।
नयाँ व्यवस्थाअनुसार, भदौ २७ गते बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि हिँडडुल गर्न छुट दिइएको छ। तर, यो अवधिमा पनि जुलुस, धर्ना, प्रदर्शनजस्ता गतिविधि पूर्णतः प्रतिबन्धित रहनेछन्।
निषेधाज्ञा र कर्फ्युको अवधिमा अत्यावश्यक सेवाहरू भने निर्वाध सञ्चालन गर्न पाइनेछ। एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, ग्यास, इन्धन, दूध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधि ढुवानी गर्ने सवारी साधनलाई अनुमति दिइनेछ।
त्यस्तै, सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, बैंक तथा वित्तीय संस्था र अन्य सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीहरूले सक्कल परिचयपत्र (डिजिटल बाहेक) देखाएर कार्यालय आउजाउ गर्न पाउनेछन्। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले भने आफ्नो टिकट देखाएर विमानस्थलसम्म जान सक्ने व्यवस्था मिलाइएको छ।
नागरिकलाई सहज आवागमनका लागि नजिकका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सेनाले आग्रह गरेको छ।

