काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
बुधबार बसेको केन्द्रीय समिति बैठकमा उनले पद त्यागको प्रस्ताव राख्दै आगामी फागुनमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका हुन्।
पार्टी उपाध्यक्ष मानुषी यमी भट्टराईका अनुसार विशेष महाधिवेशनका लागि वरिष्ठ उपाध्यक्ष दुर्गा सोबको संयोजकत्वमा आयोजक समिति गठन गर्ने तयारी भएको छ। यसबारे औपचारिक जानकारी बिहीबार पत्रकार सम्मेलनमार्फत दिइने बताइएको छ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार डा. भट्टराईले मुलुकको वर्तमान राजनीतिक आवश्यकता र वैकल्पिक शक्तिसँग सहकार्यको आवश्यकता औंल्याउँदै पद छाड्ने निर्णय गरेका हुन्।