तोमनाथ उप्रेती
उपसचिव, नेपाल सरकार
आजको विश्व प्रविधि–विस्फोट, जनसङ्ख्या दबाब, जलवायु परिवर्तन र नैतिक संकटको सामना गरिरहेको छ। यस्ता चुनौतीहरू कानुनी, आर्थिक वा प्राविधिक उपायले समाधान गर्न सकिँदैन। यहाँ अन्तर्मनको उज्यालो र आध्यात्मिक चेतनाको आवश्यकता अपरिहार्य छ। उदाहरणका लागि, जलवायु परिवर्तनको समाधानमा उपभोगवादी मानसिकता त्यागेर पृथ्वीलाई साझा घर मानेर नीति निर्माण गर्नु पर्छ। प्रविधि क्षेत्रमा कृत्रिम बुद्धिमत्ता वा जैव–प्रविधिमा नैतिक सीमारेखा कायम नगरेको खण्डमा मानवीय जीवन जोखिममा पर्छ। यसैले व्यक्तिगत अन्तर्मनको उज्यालो मात्र नभई नेतृत्व र नीति–निर्माणमा पनि आध्यात्मिक दृष्टिकोण आवश्यक हुन्छ।
अध्यात्म जीवनको आभूषण हो। यसले मानिसलाई भित्री संसारसँग भेट गराउँछ। बाहिरका आडम्बरहरू क्षणभंगुर हुन्, तर अन्तर्मनको सत्य चिरन्तन हुन्छ।अध्यात्म कर्मकाण्ड होइन। यो आत्म–अन्वेषणको बाटो हो। ऋषि–मनीषीहरूले यसलाई सत्य, आत्मा र परमात्माको सन्देशका रूपमा व्याख्या गरेका छन्। अध्यात्मले भन्छ— आत्मालाई शुद्ध गर, चेतनालाई जागृत गर, अनि मात्र जीवन अर्थपूर्ण हुन्छ।
शुद्ध अन्तर्मन अहंकार, ईष्र्या, क्रोध र लोभबाट मुक्त हुन्छ। यस्ता विकृतिहरूले चेतनालाई प्रदूषित गर्छन्। जब चेतना मलिन हुन्छ, व्यवहार असन्तुलित हुन्छ। जब चेतना शुद्ध हुन्छ, व्यवहार करुणामय हुन्छ।मानव जीवनको लक्ष्य बाहिरी सम्पत्ति होइन। यो आन्तरिक सम्पत्ति हो। विवेक, धैर्य, करुणा र सहिष्णुता— यी नै अमूल्य सम्पत्ति हुन्। यिनको उदय अन्तर्मनको शुद्धताबाट मात्र सम्भव हुन्छ।
मानव जीवन भौतिक उपलब्धि, सत्ता वा सामाजिक प्रतिष्ठामा सीमित छैन। यसको वास्तविक मर्म अन्तर्मनको उज्यालोमा निहित छ, जसले व्यक्तिलाई आत्मचेतना, आत्मसंयम र नैतिकता आत्मसात् गर्न प्रेरित गर्छ। जब व्यक्तिले आफ्नो अन्तरमनलाई शुद्ध, सुसंस्कृत र उज्यालो बनाउँछ, तब मात्र उसले जीवनका जटिल समस्याहरूको सामना धैर्य, विवेक र संयमका साथ गर्न सक्छ। अन्तर्मनको उज्यालो ज्ञानको प्रकाश मात्र होइन, यो करुणा, सहिष्णुता, प्रेम, क्षमा र सेवा–भावको प्रकाश हो, जसले समाजलाई नैतिक आधार प्रदान गर्दछ।
सहिष्णु समाजको निर्माणको पहिलो आधार व्यक्ति–स्तरको अन्तर्मन सुधार हो। जब प्रत्येक नागरिकले आफ्नो अन्तरमनमा अनुशासन, नैतिक मूल्य र आध्यात्मिक चेतना विकास गर्छ, तब उसले आफ्नो स्वार्थका लागि होइन, समग्र समाजका लागि निर्णय र कार्य गर्ने क्षमता प्राप्त गर्छ। गीता, उपनिषद्, बौद्ध दर्शन लगायत प्राचीन ग्रन्थहरूले यही कुरा स्पष्ट पारेका छन् कि आत्म–जागरण र आत्म–परिष्कार नै समाजिक सद्भावको मूल आधार हो। उदाहरणका लागि, गीता अध्याय २ मा कृष्णले अर्जुनलाई आत्म–विवेक र धर्मसंगत कार्यको महत्त्व सिकाउनुहुन्छ। यही चेतनाले व्यक्तिलाई स्वार्थ, लोभ, द्वेष र क्रोधका अन्धकारबाट मुक्त गर्छ, जसले समाजमा मेलमिलाप र सहिष्णुताको वातावरण सिर्जना गर्छ।
इतिहासमा पनि देखिएको छ कि सहिष्णु समाज निर्माणका लागि अन्तर्मनको उज्यालो अपरिहार्य छ। महात्मा गान्धीले आफ्नो व्यक्तिगत जीवनलाई नैतिकता, सत्य र अहिंसामा समर्पित गरेर भारतीय स्वतन्त्रता आन्दोलनलाई मात्र सफल बनाएनन्, समाजमा सहिष्णुता र सहअस्तित्वको संस्कृति पनि प्रवद्र्धन गरे। समान रूपमा, डा. अब्दुल कलामको जीवनमा शान्ति, सेवा–भाव र नैतिकता आत्मसात् गरेर उनले शिक्षा, विज्ञान र समाज सुधारका माध्यमबाट सहिष्णु समाजको निर्माणमा योगदान दिए। यी उदाहरणहरूले प्रमाणित गर्छन् कि व्यक्तिगत अन्तर्मनको उज्यालो समाजिक मेलमिलाप र सहअस्तित्वको मूल स्रोत हो।
सहिष्णुता दृष्टिकोण वा आदर्शवादमा सीमित छैन; यो व्यवहारिक अभ्यास हो। जब नागरिकले जातीय, सांस्कृतिक, धार्मिक वा भाषागत भिन्नतालाई सम्मान गर्छन्, तब मात्र समाजमा स्थायी सद्भाव कायम हुन्छ। स्क्यान्डिनेभियन मुलुकहरूको अनुभव यस सन्दर्भमा उल्लेखनीय छ। स्वीडेन, नर्वे र डेनमार्कले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र मानव–अधिकारमा समावेशी नीति अपनाउँदै समाजमा असमानता न्यून गरेका छन्। यहाँको नागरिकहरूले अन्तरमनमा समानता, करुणा र सहिष्णुता विकास गरेका छन्, जसले सामाजिक विवाद, द्वन्द्व र असमानता कम गर्ने कार्य गरेको छ।
अन्तर्मनको उज्यालोले सांस्कृतिक र धार्मिक सहिष्णुतालाई पनि प्रवद्र्धन गर्छ। नेपालजस्ता बहुजातीय, बहुधार्मिक र बहुभाषिक समाजमा सहअस्तित्वको आवश्यकता अत्यधिक छ। जब व्यक्ति आफ्नो अन्तरमनमा शुद्धता र नैतिक मूल्य आत्मसात् गर्छ, तब उसले अन्य समूहको अधिकार र संस्कारको सम्मान गर्न सिक्छ। यसले समाजमा द्वन्द्व र विभाजनको सट्टा मेलमिलाप र समरसता सिर्जना गर्छ।
समाज शान्ति खोज्छ। तर समाजको मूल आधार व्यक्ति हो। अशान्त व्यक्ति मिलेर स्थिर समाज जन्मँदैन। शान्त अन्तर्मनले मात्र सहअस्तित्व सम्भव हुन्छ। त्यसैले, समाज सुधारको बाटो व्यक्ति–सुधार हो। व्यक्ति सुधारको बाटो अन्तर्मनको शुद्धि हो।हिन्दू योगले ध्यानमार्फत अन्तर्मनलाई निखार्छ। बौद्ध दर्शनले करुणा र माया मार्फत आत्मालाई पवित्र बनाउँछ। यी परम्पराहरू फरक देखिए पनि उद्देश्य एउटै छ— चेतनाको शुद्धि।
शुद्ध चेतनाले द्वेषलाई भङ्ग गर्छ। यसले मानिसलाई ‘म’ बाट ‘हामी’ तर्फ डोर्याउँछ। जब आत्माले भिन्नताको पर्दा हटाउँछ, तब सामाजिक मेलमिलाप जन्मिन्छ। जात, धर्म, भाषा, पद— यी सबै कृत्रिम भित्ताहरू भत्किन्छन्। शुद्ध आत्मा मानवताको भाषा बोल्छ।सामाजिक सद्भाव कुनै व्यवस्थाले मात्र ल्याउन सक्दैन। कानुनले दण्ड दिन सक्छ, तर प्रेम जन्माउन सक्दैन। प्रेम र भाईचारो अन्तर्मनको उज्यालोबाट मात्र जन्मिन्छ।
अध्यात्मिक अभ्यासहरू जस्तै योग, ध्यान, प्रार्थना र आत्मचिन्तन— यी आत्मिक औषधिहरू हुन्। यसले मनलाई शान्त गर्छ। शरीरलाई स्वस्थ बनाउँछ। चेतनालाई बल दिन्छ। यसले जीवनलाई सन्तुलित बनाउँछ।
अध्यात्मले मानवलाई भयबाट मुक्त गर्छ। धर्मले ‘पाप गर्छौ भने दण्ड भोग्छौ’ भन्छ।

