काठमाडौँ । गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले देशभरि त्रासदीको घाउ छोडेर गएको छ। दुई दिनको तीव्र वर्षासँगै पहिरो, बाढी र चट्याङका घटनाले कम्तीमा ५२ जनाको मृत्यु भएको छ भने ५ जना अझै बेपत्ता छन्।
मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार, सबैभन्दा धेरै ३९ जनाको मृत्यु पहिरोमा भएको छ।
त्यसमध्ये इलाममा मात्रै ३७ जनाको ज्यान गएको पुष्टि भएको छ। बाँकी एक–एक जना पाँचथर र काभ्रेपलाञ्चोकमा मृत्यु भएका छन्।
त्यस्तै, बाढीमा परेर ११ जनाको मृत्यु भएको प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिए। उदयपुर र धनुषामा दुई–दुई जना, इलाम, पाँचथर, खोटाङ, मोरङ, सुनसरी, रौतहट र भोजपुरमा एक–एक जनाको मृत्यु भएको हो।
रौतहटमा चट्याङ लागेर दुईजनाको ज्यान गएको छ।
देशका विभिन्न स्थानमा ४७ जना घाइते भएका छन् — जसमा ३३ जना पहिरोबाट र १४ जना चट्याङबाट घाइते भएका हुन्।
यस्तै, रसुवामा चार र इलाममा एकजना गरी पाँचजना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ।
कार्यकारी प्रमुख भट्टका अनुसार, बेपत्ता व्यक्तिहरूको खोजीका लागि तीनवटै सुरक्षानिकाय — सेना, प्रहरी र सशस्त्र प्रहरी — परिचालन गरिएको छ। उनले प्रभावित क्षेत्रका स्थानीयलाई सतर्क रहन र जोखिमपूर्ण भूभागमा नजान आग्रह गरेका छन्।
अविरल वर्षा, पहिरो र बाढीका घटनाले देशका पहाडी र तराई दुवै भूभागमा मानवीय क्षति मात्र होइन, सडक, आवास र कृषिक्षेत्रमा पनि ठूलो आर्थिक नोक्सानी पुर्याएको अनुमान गरिएको छ।