सुनसरी । गत शनिबार र आइतबार परेको अविरल वर्षासँगै आएको हावाहुरीले सुनसरीका विभिन्न क्षेत्रका किसानको मेहनत र आशामा ठुलो चोट पुर्याएको छ। इनरुवा सदरमुकामदेखि भोक्राहा र हरिनगरसम्म फैलिएका केराखेतीका बगैँचा अहिले भाँचिएका डाँठ र च्यातिएका पातको थुप्रोमा रूपान्तरण भएका छन्।
भोक्राहा नरसिंह गाउँपालिका–२ का एयुब साहमियाँ आठ वर्षदेखि केराखेती गर्दै आएका अनुभवी किसान हुन्। सात बिघा जग्गा भाडामा लिएर बैंकबाट ६ लाख रुपैयाँ ऋण उठाएर केराको उत्पादनमा लगानी गरेका उनले यसपटक करिब तीन बिघा एक कठ्ठा क्षेत्रफलमा पूर्ण क्षति पुगेको बताए।
“करिब १३ लाखभन्दा बढीको घाटा भयो,” मियाँको स्वरमा थकान मात्र होइन, वर्षौँको मेहनतको निराशा झल्किन्छ। “हरेक वर्ष बाढीले १० देखि २५ लाखसम्मको क्षति पुर्याउँछ, तर योपटक त सबैभन्दा ठुलो नोक्सानी भयो।”
त्यसैगरी, स्थानीय वीरेन्द्र ठाकुरले सात कठ्ठा जमिनमा करिब एक लाख लगानी गरेर केराखेती गरेका थिए। हावाहुरीले उनको खेत पनि तहसनहस बनाएको छ। हरियो बोटहरू भुइँमा लत्रिएका छन्, केहीमा फल लाग्न नपाउँदै बोट भाँचिएका छन्।
कृषि ज्ञानकेन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहका अनुसार जिल्लामा यस वर्ष ५३० हेक्टर क्षेत्रफलमा केराखेती गरिएको छ। अहिलेको प्राकृतिक विपत्तिपछि ठूलो क्षतिको प्रारम्भिक विवरण संकलन भइरहेको उनले बताए।
सुनसरीका किसानहरूका लागि यो विपत्ति केवल आर्थिक क्षति होइन, वर्षौँदेखि रोपिएको विश्वास र भविष्यप्रतिको भरोसामाथिको चोट पनि हो। आकाश खुल्दै जाँदा खेतको पानी सुकेको देखिए पनि किसानका अनुहारमा अझै अँध्यारो छ — किनभने उनीहरूलाई थाहा छ, ऋण तिर्ने दिन नजिकिँदैछ, तर केराखेतीले यसपालि केही दिनेवाला छैन।